पोखरा जेठ २४ । मर्दीखोला समाज यूकेका आजीवन सदस्य विकास गुरुङका बुवाको कोरोनाले यूकेमै मृत्यु भयो । उतै काजक्रिया गरियो । गुरुङ संस्कृतिअनुसार अर्घौ र ४९ दिनको पूजा गर्न उनीहरुको परिवार चैतको १४ गते नेपाल आए । नेपालमा पनि कोरोनाको दोस्रो लहरले छोपिसकेको थियो, उनी नेपालमै रोकिए । उनको बसाई लम्बिँदै जाँदा नेपालमा कोरोना संक्रमितको ग्राफ निकै माथि पुगेको थियो । कोरोनाका कारण बाबु गुमाएका विकासले नेपालमा बढिरहेको संक्रमणका विरुद्ध केही गर्नुपर्छ भन्ने सोंच बनाए । यूकेजस्तो विकसित देशमा त कोरोना संक्रमणबाट धेरैले ज्यान गुमाएका छन् भने जन्मभूमि नेपालमा यसले झन् महामारीको रुप लिन्छ भनेर उनलाई थाहा थियो । त्यही कारण पनि आफ्नो तर्फबाट केही गर्न सकिन्छ कि भनेर सोंचे । अनि सम्झिए, नेपालको हरेक दु:खमा साथ दिने यूकेवासी मर्दीखोला समाजलाई ।
मर्दीखोला समाज यूकेका अध्यक्ष धर्मराज गुरुङसँग उनको कुराकानी भयो । धर्मले यूके बस्ने मर्दीखोलावासीसँग सहयोग जुटाउने आश्वासन दिँदै विकासलाई तयारी थाल्न भने । उनले सुरुमा स्वास्थ्य सामग्री वितरण गर्ने सोंच बनाए । स्वास्थ्य केन्द्रका चिकित्सक आनन्द बराल, सल्लाहकार शंकर गुरुङ र बराह माबिका प्रधानाध्यापक नरबहादुर गुरुङसँग सल्लाह गरे । सल्लाहमा यो समयमा स्वास्थ्य सामग्री बाँड्न भन्दा अक्सिजनसहितको आइसोलेसन बनाउने निचोड निस्कियो । विकासलाई पनि यो महामारीमा आइसोलेसन नै महत्वपूर्ण लाग्यो । फेरि यूकेका अध्यक्ष गुरुङसँग सम्पर्क गरेर आइसोलेसनका लागि सहयोग गर्ने जनाए । यूकेबाट पनि त्यहीअनुसार सहयोग रकम उठाउने सहमति भयो ।
उनीहरुले यो काममा वडासँग पनि सल्लाह गर्न उचित ठानेर विकासले माछापुच्छ्रे गाउँपालिका ७, ८ र ९ का जनप्रतिनिधिहरुसँग छलफल गरे । ती वडा समितिहरुले आइसोलेसन बनाउन सहयोग कहाँबाट ल्याउने, कसरी सञ्चालन गर्ने भनेर आँट्न सकेनन् । त्यसको २ दिनपछि फेरि पालिकाको ५ देखि ९ वडाका जनप्रतिनिधिलाई राखेर कुरा गरेपछि बल्ल भेडाबारीमा आइसोलेसन बनाउने सहमति भयो ।
अक्सिजनसहितको आइसोलेसन बनाउन खर्च धेरै लाग्ने भएपछि विकासले अरु समाजहरुलाई पनि जन्मभूमिमा आफूहरुको सहयोगमा आइसोलेसन बनाउन लागेको सुनाए । उनी आफैले मर्दीखोला समाज, हङकङका अध्यक्ष रक्ष गुरुङलाई फोन गरेर सहयोगका लागि अपील गरे । हङकङबाट पनि सहयोग उठाएर पठाउने हङकङ समाजका अध्यक्षले पनि प्रतिवद्धता जनाए । यता काम सुरु गर्नका लागि पहिलो चरणमा यूकेबाट अध्यक्ष धर्मराज गुरुङको नेतृत्वमा पहिलो चरणमा उठेको २ लाख ५० हजार आयो । यूकेबाट दोस्रो चरणमा ६० हजार र तेस्रो चरणमा ५० हजार पठाए । सबै गरेर एकमुष्ट रुपमा यूकेबाट ३ लाख ६० हजार आयो ।
यता पालिकास्तरबाट सुरु आइसोलेसन बनाउन सुरु भइसकेको थियो । त्यसका लागि यूकेबाट पहिलो र दोस्रो चरणमा आएको ३ लाख १० हजारमध्ये २ लाख ४४ हजार ५ सय आइसोलेसनका लागि दिए । त्यसबाट विकासले २५ हजारको भेँडाबारी प्रहरी चेकपोष्टमा सोलार र ३ हजार ४ सयको राईस कुकर सहयोग गरे । हङकङबाट पनि एकमुष्ट ३ लाख ६० हजार नै प्राप्त भयो । पहिला बाँकी रहेको र हङकङबाट आएको सहयोग रकमले आइतबार भेँडाबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । आइतबार गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङको उपस्थितिमा विकास गुरुङको संयोजनमा एउटा अक्सिजन कन्सनट्रेटरसहित अक्सिमिटर १५ वटा, एन ९५ मास्क २५ थान, सर्जिकल ३ सय २० वटासहित अन्य सामाग्री सहयोग गरेको हो । आईसोलेसन वार्डमा बेडका लागि अस्पताल म्याट्रेस १५ वटा, सिरानी, व्ल्याङ्केट लगाएत अति आवश्यक औषधि पनि सहयोग गरेको हो । यसैगरी सेनिटाइजर, फेसशिल्ड, पञ्जा, पिपिइ, थर्मोमिटर, नेबुलाईजर मास्क, अक्सिजन मास्क हस्तान्तरण गरेको छ ।
अहिलेसम्म ७ लाख ५ हजारको सामान किनिएको विकासले जानकारी दिए । बाँकी रहेको रकम र Hall and wood House (the peacock farm) £ 210 (नेरु ३४४४०) को बाट स्वास्थ्य सामग्री खरिदमै खर्च गरिने उनको भनाइ छ । सहयोग आउने क्रम अझै जारी छ । बचेको रकमबाट मर्दीखोला समाजका २ जना सदस्यको कोरोना संक्रमणबाट ज्यान गएका कारण उनीहरुको परिवारलाई ५/५ हजार सहयोग गर्ने विकासले जानकारी दिए । उनले कोरोना संक्रमणबाट मृत्यु भएका भेँडाबारीका अन्य परिवारलाई पनि ५ हजार दिने निर्णय भएको छ ।
मर्दीखोला समाज यूके र हङकङका सदस्यहरु आफ्नो जन्मभूमीमा आइसोलेसन बनाउन जुटेपछि बल्ल गाँउपालिकाले काम सुरु गरेको थियो । माटोको माया लागेर जन्मभूमिमा दु:ख नपरोस् भनेर आफूहरु जुर्मुराएपछि गाउँपालिका अगाडि बढेकोमा खुसी लागेको तमु समाज यूके, आमा समूहकी संस्थापक अध्यक्ष माया गुरुङले बताइन् । ‘हामी जागेपछि, हामीले सहयोग गर्छौं भनेर पहल गरेपछि उनीहरुले सुरुवात गरेको हो,’ उनले भनिन्, ‘राज्यले हामीलाई सम्झन्न, सबै आफूले गरेको जस्तो गर्छ, सरकारले हाम्रो कामको मूल्यांकन नगरे पनि हाम्रो जन्मभूमीका लागि हामी जहिले सहयोग गर्न तयार छौं ।’ माया गुरुङले नेतृत्वमा पहिलो चरणको लकडाउन र बाढी पहिरो गएको समयमा ४ लाखभन्दा बढीको राहत वितरण गरिएको थियो । सरकारले मर्दीखोला समाज यूकेले गरेको काम नसम्झिए पनि मर्दीखोलावासी स्थानीयले सम्झिरहने उनको विश्वास छ ।
कोरोना संक्रमित बढ्दै गएसँगै माछापुच्छ्रे गाउँपालिकाअन्तर्गत धितालको भिँडावारीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन निर्माण जारी छ । गाउँका कोरोना संक्रमितको प्राथमिक उपचार कम्तीमा पालिकास्तरमै होस् भन्ने हेतुले आइसोलेसन निर्माणमा गरिएको गाउँपालिका प्रमुख कर्ण बहादुर गुरुङले बताए । पोखराका मुख्य अस्पतालमा संक्रमितको चाप उच्च रहेकाले सो को व्यवस्थापनका लागि पनि पालिकास्तरमा आइसोलेसन निर्माण सार्थक हुने उनको विश्वास छ । आइसोलेसनका लागि आवश्यक सहयोग गरेको पालिकाको तर्फबाट यूके र हङकङबासी मर्दीखोला समाजमा आबद्ध सबैलाई धन्यवाद दिए । आइसोलेसनका लागि विभिन्न संघ संस्थाबाट पनि सहयोग आउने क्रम जारी रहेको उनले जानकारी दिए ।