लमजुङ | चैत्र १० २०७८ । क्होलासोंथर गाउँपालिका वडा नं. ३ घलेगाउँमा पोंचोकों क्होइँबो धिं दशथर अक्षय कोष स्थापना गरिएको छ ।
स्थानीय एवं बेलायती सेनाका भूपू रनबहादुर गुरुङको संयोजकत्वमा पोंचोकों क्होइँबो धिं दशथर अक्षय कोष स्थापना गरिएको हो । तमु प्ये ल्हु संघ पोचोंको क्होइँबो धीं दशथर घलेगाउँले निर्माण गरेको पोंचोकों क्होइँबो धींका लागि देश विदेशबाट २८ लाख रुपैयाँ सहयोग संकलन गरी अक्षय कोष स्थापना गरिएको हो ।
अर्थ संकलन समितिका संयोजक रनबहादुर गुरुङका अनुसार बेलायत, अमेरिका, हङकङ, यूएईलगायतमा रहेका स्थानीय र काठमाडौं, पोखरा, चितवन लगायतको ठाउँमा रहेका स्थानीयले सहयोग गरेका छन् । अक्षय कोषका लागि संयोजक गुरुङले ३ लाख रुपैयाँ सहयोग गरेका छन् ।
अक्षयकोष बैंक खाता खोली जम्मा गरिने र अक्षयकोषबाट आएको ब्याजले क्होइँबो धींका लागि खर्च गरिने छ । क्होइँबो धींमा गुरुङ पुरोहितले आफू पनि सिक्ने र नयाँ सदस्य बनाएर भावी पुस्तालाई प्ये (शास्त्र) र छ्या (संस्कार) सिकाउने छन् । आफ्नो धर्म, संस्कार संस्कृतिको संरक्षण र संवर्द्धन गर्न देश विदेशबाट सहयोग जुटाएको तमु प्ये ल्हु संघ पोचोंको क्होइँबो धीं दशथर घलेगाउँका अध्यक्ष आशविर गुरुङले बताए । उनका अनुसार तमु जातिको इतिहास, प्ये ताँ–ल्हु ताँ (संस्कार संस्कृतिका कुरा), भाषाको संरक्षण र संवर्द्धन साथै गुरुङ समुदायका खेगी (पुरोहित) पच्यु, क्ल्हेप्री, बोन्पो लमको संरक्षण, संवर्द्धन तथा यसबारे अध्ययन गर्न क्होइँबो धीं ले सहयोग गर्नेछ ।
तमु जातिको भाषा, संस्कृति हराउन थालेपछि नयाँ पुस्तालाई आफ्नो संस्कार सिकाउन गाउँमा क्होइँबो धीं निर्माण गरिएको र अक्षयकोष स्थापना गरिएको उनले बताए ।
घलेगाउँमा आयोजित अक्षयकोष स्थापना तथा विशेष सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले तमु समुदायको संस्कार, संस्कृति सिकाउन र नयाँ पुरोहितहरु उत्पादन गर्न अभियानले मद्दत गर्ने बताए । तमुहरुका बेदलाई लिपिबद्ध गनुपर्ने र संस्कार संरक्षण गर्नुपर्ने बताए । पछिल्लो समय सँस्कार हराउँदै गएको समयमा घलेगाउँमा संरक्षणको काम भएको बताए ।
क्होइँबो धींमा शास्त्रीय पाठशाला सञ्चालन गरी विद्यार्थी उत्पादन गरिने छ । सेमिनार गोष्ठीहरु सञ्चालन गरिने छ । तमु प्ये ल्हु संघ पोचोंको क्होइँबो धीं दशथर घलेगाउँका अध्यक्ष आशविर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ३ का अध्यक्ष खर्काजङ गुरुङ, अभियान संयोजक रनबहादुर गुरुङलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सदस्य गोपाल गुरुङले गरेका थिए ।