नोभेम्बर २१, कतार : एकता र समावेशीताको नाराका साथ भव्य उद्घाटन समारोहबीच आइतबारदेखि कतारमा फिफा विश्वकप २०२२ सुरु भएको छ ।
उद्घाटन समारोह नेपाली समय अनुसार साँझ ७:४५ बजे अल बायत रंगशालाको आकाशलाई उज्यालो पार्ने आतिशबाजीका साथ सम्पन्न भएको थियो ।
उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय तथा स्थानीय कलाकार, गायक तथा नर्तकहरुको प्रस्तुति आकर्षणको केन्द्रबिन्दु बनेको थियो ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले २०२२ को विश्वकपमा सबैलाई स्वागत गरेका छन् ।
उद्घाटन समारोहमा विश्वका विभिन्न देशका नेताहरुको सहभागिता रहेको थियो । मध्यपूर्वको देश कतारमा आयोजना हुने यो पहिलो विश्वकप हो । कतारले पहिलो पटक फिफा भव्य कार्यक्रममा भाग लिएर इतिहास रच्यो।
यसैबीच हिजो भएको कतार र इक्वेडरबीचको खेलमा इक्वेडरले कतारलाई २–० गोल अन्तरले पराजित गरेको छ । कतार ९२ वर्षको इतिहासमा विश्वकपको उद्घाटन खेलमा हार्ने पहिलो आयोजक राष्ट्र बनेको छ ।
इक्वेडरका लागि इक्वेडरका कप्तान एनर भ्यालेन्सियाले दुई गोल गरे ।