Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALपोखराका दुई स्थानमा एक महिने मगर भाषा तथा लिपि लेखन प्रशिक्षण सुरु

पोखराका दुई स्थानमा एक महिने मगर भाषा तथा लिपि लेखन प्रशिक्षण सुरु

पोखरा, १८ भदौ कास्कीको पोखरा महानगरपालिकाका दुई स्थानमा शनिबार एकै दिन एक महिने मगर भाषा तथा लिपि लेखन प्रशिक्षण सुरु भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा नेपाल राष्ट्रिय मगर संघ, गण्डकी प्रदेशसँगको सहकार्यमा पोखरा–१४, शुभकामनाटोल र धौलागिरिमार्गमा एकैसाथ एक महिने मगर भाषा तथा लिपि लेखन प्रशिक्षण सुरु गरिएको हो । शुभकामनाटोलमा नेपाल मगर संघ, छिनेडाँडा एकाइ समितिको व्यवस्थापन तथा धौलागिरिमार्गमा बागलुङ –पोखरा मगर समाजको व्यवस्थापनमा सो प्रशिक्षण सुरु गरिएको हो । शुभकामनाटोलमा सुरु भएको मगर भाषा प्रशिक्षणको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले मगर जाति इमान्दारिताको पर्याय भएको बताउनुभयो । एक महिनाको अवधिमा दिलो ज्यान दिएर भाषा सिक्न आग्रह गर्दै मन्त्री श्रेष्ठले मगर समुदायले आफ्नो मातृभाषा जोगाउन विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

त्यस्तै, धौलागिरिमार्गमा भएको प्रशिक्षणको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले स्थानीय तहमा पाठ्यक्रम बनाएर मातृभाषाको शिक्षा लागु गर्न सकिने बताउनुभयो । स्थानीय तहलाई पाठ्यक्रम बनाएर शिक्षामा समावेश गर्दा मातृभाषा संरक्षणमा महत्वपूर्ण टेवा पुग्ने बताउँदै उहाँले भाषा जोगाउन नयाँ पुस्तालाई मातृभाषा सिकाउनु आवश्यक भएको बताउनुभयो । गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले प्रतिष्ठानले स्थापित जाति, विस्थापित भाषा नाराका साथ मातृभाषा संरक्षण अभियान थालेको बताउनुभयो । प्रशिक्षार्थीहरूलाई इमान्दारिता र चासोका साथ भाषा सिक्न आग्रह गर्दै श्रेष्ठले आफ्ना सन्तानलाई भाषा र संस्कार सिकाउनु जरुरी रहेको बताउनुभयो ।

त्यसैगरी, प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवं मातृभाषा विभाग प्रमुख कृष्णप्रसाद पौडेलले आफ्नो मातृभाषा लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नु खुसीको कुरा भएको भन्दै गण्डकी प्रदेशभित्र बोलिने मातृभाषाको संरक्षणका लागि के कस्ता कार्यक्रम सञ्चालन गर्न सकिन्छ भन्ने कुरामा प्रतिष्ठान चिन्तनशील रहेको बताउनुभयो ।

नेपाल राष्ट्रिय मगर संघ, गण्डकी प्रदेशका सभापति पदम बहादुर पुनमगरले मगर भाषालाई नयाँ पुस्तामा हस्तान्तरण नगरे इतिहास बन्न सक्ने चिन्ता रहेको भन्दै मगर भाषा जोगाउन अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । साथै, उहाँले आवश्यकता अनुसार मगर भाषा कक्षा सञ्चालनलाई विस्तार गर्दै लैजाने बताउनुभयो । शुभकामनाटोलमा नेपाल मगर संघ, छिनेडाँडा इकाईका निवर्तमान अध्यक्ष ज्योतिराम थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १४ का वडाध्यक्ष बोधराज कार्की, नेपाल राष्ट्रिय मगर संघकी केन्द्रीय सदस्य रीता रानामगर, मगर भाषा प्रशिक्षक रूद्रबहादुर श्रीसमगर, नेपाल राष्ट्रिय मगर संघ, कास्कीका सभापति महावीर थापामगर, नेपाल मगर संघ, छिनेडाँडा इकाईका सल्लाहकार एवं नेपाल मगर भुसाल संघका केन्द्रीय उपाध्यक्ष ज्यो. यामबहादुर थापामगर, सल्लाहकार एवं नेपाल मगर संघ, पोखरा महानगर समितिका अध्यक्ष बलवीर रानामगर, इकाई अध्यक्ष सुवेदार दलबहादुर थापामगर, समाजसेवी कोपिला श्रीसमगरले बोल्नुभएको थियो ।

त्यसैगरी, धौलागिरि मार्गमा बागलुङ–पोखरा मगर समाजका अध्यक्ष गजेन्द्र थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा मगर भाषा प्रतिष्ठान, कास्की शाखाका अध्यक्ष रूद्रबहादुर हितानमगर, जैमिनी नगरपालिका वडा नं. १०, बागलुङका निवर्तमान वडाध्यक्ष नरबहादुर थापामगर, समाजका सल्लाहकार भीमबहादुर श्रीसमगर, भाषा प्रशिक्षक रूद्रबहादुर श्रीसमगर, समाजकी कोषाध्यक्ष कृष्णा पुनमगरले मगर भाषा प्रशिक्षणको आवश्यकता र महत्वबारे बोल्नुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments