पहिरोपीडितका लागि पर्वत मञ्च हङकङद्वारा ९ लाख बढी राहत रकम संकलन
पोखरा, २८ असार पर्वतको कुश्मा नगरपालिका वडा नं. ३, दुर्लुङ, ढकालबारीमा गत जेठ ३१ गते गएको पहिरोमा परी ज्यान गुमाएका परिवारका लागि पर्वत मञ्च हङकङले ९ लाख बढी राहत रकम संकलन गरेको छ ।
मञ्चले संकलित राहत रकम छिटै पीडितसमक्ष पु¥याउने निर्णय गर्दै आइतबारदेखि राहत रकम संकलन कार्य बन्द गरेको घोषणा समेत गरेको छ । राहत रकम वितरणका लागि मञ्चको बैठकले विभिन्न जिम्मेवारी बाँडफाँड समेत गरेको मञ्चका अध्यक्ष दुर्गा गुरुङ “मिलन”ले जानकारी दिनुभयो । बैठकमार्फत् अध्यक्ष गुरुङले दुःखद् अवस्थामा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिनुभयो ।
अध्यक्ष गुरुङका अनुसार संकलित राहत रकम चारभञ्ज्याङ तमु समाज, हङकङका अध्यक्ष गंगाबहादुर गुरुङले मञ्चका तर्फबाट पीडितलाई हस्तान्तरण गर्नुहुनेछ । राहत रकम हस्तान्तरण कार्यक्रमको स्थानीय संयोजनका लागि प्रितम गुरुङ र गणेश गुरुङ, कार्यक्रम सञ्चालनका लागि मदन गुरुङ र अन्तिम गुरुङलाई जिम्मेवारी दिइएको अध्यक्ष गुरुङले बताउनुभयो ।
मञ्चको पहलमा सुरु गरिएको राहत रकम संकलनका क्रममा आर्थरडाँडाखर्क सहयोग समिति, हङकङ, पैयूँखोला समाज हङकङ, चारभञ्ज्याङ तमु समाज हङकङ, पञ्चासे समाज हङकङ, बाजुङ समाज हङकङ, देउपुर देउराली समाज हङकङ, पर्वत पुन मगर समाज हङकङ, भुक ताङ्गले समाज हङकङ , तमु समाज हङकङ, सुकुटी गु्रप हङकङलगायतका संस्थाले विशेष रुपमा सहयोग गरेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । साथै, मञ्चको आग्रहमा हङकङबासी नेपालीहरूले समेत राहत रकम संकलन कार्यमा सघाएका छन् ।
अध्यक्ष गुरुङको अध्यक्षतामा भएको बैठकको सञ्चालन महासचिव विद्या गुरुङले गर्नुभएको थियो । सो अवसरमा मञ्चका सल्लाहकारद्वय श्यामप्रसाद गुरुङ,मीन बहादुर गुरुङ र तिर्थ गुरुङ, उपाध्यक्ष एवं कार्यक्रम संयोजक भीमबहादुर गुरुङ, आर्थरडाँडाखर्क सहयोग समिति, हङकङका अध्यक्ष मनोज गुरुङ, दुर्लुङ मञ्च, हङकङका अध्यक्ष उदिम गुरुङ, पैयूँखोला समाज, हङकङका अध्यक्ष दुर्गा थापा र पञ्चासे समाज, हङकङका प्रतिनिधि सन्तोष गुरुङको समेत उपस्थिति रहेको थियो ।
बैठकमा पहिरोमा ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो । मञ्चमा हङकङमा क्रियाशील १० वटा संस्था आबद्ध रहेका छन् ।