अन्नपूर्ण हिम श्रृंखला लमजुङ्ग हिमालको काखमा अवस्थित पसगाउँ पर्यटकीय सम्भावना बोकेको गाउँ हो । गण्डकी प्रदेश अन्तर्गत क्होला सोंथर गाउँपालिका वडा नंं. ६ मा पर्ने यो गाउँ अहिले होमस्टेका कारण आन्तरिक तथा बाह्य पर्यटकहरुको नजरमा पर्न थालेको छ । समुन्द्री सतहबाट १,६५० मिटरको उचाईमा रहेको पसगाउँमा १ सय ५० घरधुरी छन् । २०६० सालदेखि सुरु भएको पसगाउँको होमस्टेले २ सयभन्दा बढी पाहुना पाल्न सक्ने क्षमता राख्छ ।
लमजुङको सुदुर पश्चिम उत्तर भेगमा अवस्थित यस गाउँमा लमजुङको सदरमुकाम बेंशिसहर र पोखराबाट बस र जीपबाट पुग्न सकिन्छ । कच्ची सडकको यात्रा कठिन भएपनि गाउँ पुगेपछि मनमोहक प्राकृतिक छटा र गुरुङ संस्कार संस्कृतिमा आधारित रहनसहन अनि आतिथ्यताले पाहुनाहरु प्रफुल्ल हुन्छन । यात्राका सबै दुःख बिर्साउँछ । लमजुङ जिल्लाकै विकट गाउँका रुपमा पनि चिनिने यो गाउँ अहिले पाहुनाको स्वागत सत्कारका कारण समृद्धितर्फ अघि बढेको छ ।
यतिखेर पसगाउँमा आन्तरिक पर्यटकहरुको घुईँचो लागेको छ । विभिन्न संघसंस्था तथा ब्यक्तिहरु पूर्वनियोजित कार्यक्रमका लागि तथा घुमघाममा रमाउन पसगाउँ आउन थालेका छन् । खानाका स्थानीय परिकारसँगै जाँगरिला गाउँलेहरुको सक्रियताले पनि पसगाउँलाई समृद्धितर्फ अघि बढाउन सघाएको छ ।
झिनुवा धानको भात, कोदोको ढिंडो, सेल, सिस्नोको दाल, मकैका विभिन्न परिकार र गाउँमै उत्पादित अर्गानिक तरकारीको मिठो र रसिलो स्वादसँगै भेडाको मासु र कोदोको रक्सीले पनि यहाँ आउने पाहुनाहरुको मन तान्न सफल भएको छ ।
पैसा आर्जनका लागि गाँस र बास दिने मात्रै भन्दा पनि खाना पस्किंदा हँसिलो भाव भंगिमासहित माया पनि मिसाउने अभूतपूर्व कला पसगाउँका महिला तथा पुरुषहरुले जानेका छन् । गाउँका युवा युवतीलगायत पाहुनाको स्वागत सत्कारमा जुट्न सक्ने सबै उमेर समुहका गाउँलेहरुको जोशिलो र हँसिलो सक्रियताले पसगाउँलाई ग्रामीण पर्यटन क्षेत्रको उदाहरणीय गन्तब्यका रुपमा स्थापित गराउने बाटोमा अघि बढाएको छ ।
यो गाउँमा आउने पाहुनालाई मोहित पार्ने अर्को महत्वपूर्ण पक्ष भनेको यहाँको मौलिकता बोकेको साँस्कृतिक अवयवहरु नै हुन । सति घाँटु, कृष्ण चरित्र र झ्याउरे नृत्य जस्ता साँस्कृतिक बान्कीहरुले पनि अतिथिहरुलाई मन्त्रमुग्ध तुल्याउँछ । नागवेली स्वरुपमा निरन्तर बगिरहने रुदी खोला, करापुटार, भोर्लेटार, पोल्याङटार, रम्घाटार र क्षितिजमा देखिने देउचुली, ब्रम्हचुलीले पनि पसगाउँ आउनेहरुको मनलाई मोहित पार्छ ।
खेतिपाती र पशुपालन कर्ममा निर्भर रहँदै आएका पसगाउँलेहरु अहिले पर्यटन ब्यवसायतर्फ अघि बढ्दा समृद्धिको स्वाद चाख्न पाएका छन । होम स्टे अर्थात घरबास कार्यक्रम सुरु भएको समय अर्थात २०६० सालबाटै यो गाउँलाई ७५ किलोवाट क्षमताको ग्रामीण विद्युतिकरणले उज्यालो बनाएको थियो । यो उज्यालोले पनि होम स्टेलाई सफल पार्न थप मद्दत पुगेको छ ।
पसगाउँलाई लेकवेसी मिलेको सुन्दर गाउँका रुपमा पनि चिनिन्छ । झिनुवाको धान फल्ने बेसीको खेतदेखि बुक्यानी घाँस मात्रै उम्रने घाँसे मैदानको भूमिसम्म यो गाउँ फैलिएको छ । जैविक विविधताले पनि धनी पसगाउँलाई गुरुङ भाषामा ‘पैगो नासा’ भनिन्छ । काठको टाँडलाई स्थानीय गुरुङ समुदायका मानिसहरु ‘पोंगु’ भन्छन् । अहिलेको बस्ती रहेको ठाउँमा मकैको खुरिया लगाउँदा जगंली जनवारलाई धपाउन काठको मचान लगाएर बसेको ठाउँ हुनाले पाँगु भनिएको हो । पाँगु भन्ने शब्द अपभ्रंश भएर पैगो भनिएको स्थानीय बुढापाकाहरुको तर्क छ । गाउँको बीचमा रहेको पाँगु नै अहिलेको ठाँटी हो । यसरी पसगाउँको पूरा नाम पसगाउँ ठाँटी रहन गएको हो । पसगाउँ भन्ने बित्तिकै पसगाउँ ठाँटी पनि सँगै जोडिएर आउँछ ।
गुरुङ समुदायको उद्गम थलोमध्येको पसगाउँ पनि एक मानिन्छन् । गुरुङ समुदायको सांस्कृतिक अवयवहरु अहिले पनि यो गाउँमा भने जीवन्त रहेको पाउन सक्छौं । शहरीकरणबाट केही टाढा रहेको यो गाउँ अझै पनि ‘अर्गानिक गाउँ’ का रुपमा लिन सकिने ठाउँ हो ।
बैदेशिक रोजगारीका लागि बलिया र टाठा युवाहरु विदेशिने क्रमले पसगउँ पनि पीडित नभएको हैन । यद्यपि पछिल्लो समय आफ्नो गाउँठाउँको सर्वाङ्गीण विकासमा जुट्न आ–आफ्नै तहबाट केही न केही उद्यम गर्नुपर्छ भन्ने गुरुमन्त्रका कारण गाउँलेहरुको सक्रियतामा उर्जा थपिएको छ । सबै गाउँलेका दिल दिमागमा स्थान बनाएको यो उर्जाले पसगाउँको पूर्ण समृद्धि धेरै टाढा छैन । नजिकै छ तर सडकको यातायातको ब्यवस्थित पहुँचका लागि संघीय, प्रदेश र स्थानीय सरकारहरुले होस्टेमा हैंसे गरिदिनु पर्छ ।
सम्भार : नागरिक खबर