पोखरा । पञ्चासे हर्पनडाँडा समाज युकेले एक विद्यार्थीलाई ल्यापटप सहयोग गरेको छ ।
नेपाल बिदामा रहेका समाजका महासचिव प्रकाश गुरुङले आइतबार पोखरा महानगरपालिका-२३ सिधाने गाउँ निवासी छात्रा पूजा गुरुङलाई संस्थाको तर्फबाट एक थान डेल कम्पनीको ल्यापटप हस्तान्तरण गरेका हुन् । पूजा बस्दै आएको पोखरास्थित भाडाको कोठामा सहयोग हस्तान्तरणका क्रममा समाजसेवी तथा प्याराग्लाईडिङ पाइलट सबिन गुरुङ, स्थानीय व्यवसायी राम गुरुङ पनि उपस्थित थिए । ल्यापटपको मूल्य ५३ हजार ५०० रूपैयाँ रहेको छ ।
आर्थिक अवस्था निकै कमजोर रहेको पूजा पीएन क्याम्पस पोखरामा शिक्षाशास्त्र संकायअन्तर्गत स्नातक तेस्रो वर्षमा अध्ययरत छिन् । पूजाको आर्थिक स्थिति अति नै कमजोर, बुबाको मृत्यु भइसकेको र कुनै नियमित आयस्रोत नभएकोले पढाइमा सहज होस् भन्ने उद्देश्यले सहयोग गरिएको महासचिव गुरुङले बताए । महासचिव गुरुङका अनुसार पूजासँग भेटघाट, कुराकानीपछि कम्प्युटर आवश्यक देखिएकोले पञ्चासे हर्पनडाँडा समाज यूके समाजको कार्यसमितिले उनलाई एक थान कम्प्युटर दिने निर्णय गरेको हो ।
पञ्चासे हर्पनडाँडा समाज युकेले पोखरामा दुई जना छात्राहरुलाई स्नातक तहसम्मको पढाईका लागि आर्थिक सहयोग गर्दै आएको छ । यो समाज सिधाने, कुद्बिडाँडा, दम्दमे र मकानपुरवासी मिलेर सन् २०१२ मा स्थापना गरिएको हो । समाजले नेपालका विभिन्न जिल्ला र बेलायतवासी नेपाली समुदायमा मानवीय सेवा, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा निरन्तर रुपमा सहयोग गर्दै आएको महासचिव गुरुङले बताए ।