Sunday, May 22, 2022
Google search engine
Homeअन्य | OTHER LINKआलेख | ARTICLEधर्म के हाे ? धर्मलाई कसरी बुझ्ने ?

धर्म के हाे ? धर्मलाई कसरी बुझ्ने ?

–रोशन गुरुङ
वालिङ–४, एलादी, स्याङ्जा
हाल : पोखरा

 

मानवशास्त्रले धर्म, संस्कृतिको गहिरो अध्ययन गर्छ । बृहत तरिकाले अध्ययन गर्छ । यो आलेखमा मानवशास्त्रले धर्मलाई कसरी बुझछ ? कसरी परिभाषित गर्छ ? प्रस्तुत गर्नेछु । धर्मलाई गहिराईमा बुझे समाजमा अनावश्यक द्धन्द हुदैन । यो आलेखमा धर्मको मानवशास्त्रीय परिभाषालाई आधार मान्दै गुरुङ समुदायका केही अस्पष्ट कुरालाई स्पष्ट पार्ने प्रयास गर्नेछु ।

धर्म के हो ?

मानवशास्त्रको अनुसार, “Religion is belief in supernatural power.” धर्म भनेको अलौकिक शक्तिको विश्वास हो । अदृश्य शक्तिको विश्वास हो । हाम्रो वरिपरि रुख, ढुङ्गा, पहाड, जङ्गल, नदी इत्यादि छ, यो भौतिक संसार होे । यो दृश्य(देखिने) संसार हो । यो दृश्य संसार भन्दा पर अर्को अदृश्य संसार पनि छ, अदृश्य शक्ति पनि छ भन्ने विश्वासलाई नै धर्म भनिन्छ ।

जस्तै भगवान, भुतप्रेत ईत्यादि । यिनीहरु देखिदैन । तर शक्तिशाली छ भनेर मानिसले विश्वास गर्छ । जहाँ धर्म हुन्छ, त्यहाँ अदृश्य शक्तिको कुरा आउछ । अदृश्य संसारको कुरा आउछ ।

धर्मको उत्पत्तिबारे

आज मान्छे जुन अवस्थामा छ, यो अवस्थामा सजिलै आइपुगेको होइन । लाखौं वर्ष मान्छेले जङगलमा बिताएर आएको हो । जसलाई ढुङ्गे युग पनि भनिन्छ । दशबाह्र हजार वर्ष जति मात्र भयो कृषि युग सुरु भएको । त्यो भन्दा अघि मान्छेलाई कृषि गर्न आउने थिएन । कृषि नगरेसी स्थायी बसोबास हुने कुरा भएन । त्यसैले सबै मान्छेको जीवन घुमन्ते फिरन्ते थियो । पाँच सय वर्ष जति मात्र भयो विज्ञानको युग सुरु भएको । यसबाट बुझिन्छ, मान्छेले सबैभन्दा लामो समय जङगलमा बिताएको छ । अध्ययनले भन्छ, उन्नसय प्रतिशत समय नै मान्छेले जङ्गलमा बिताएको छ ।

जङ्गलमा बस्दा विभिन्न प्राकृतिक विपत्तिहरु आउथे । अनौठा घटनाहरु देखा पर्थे । जुन मान्छेको नियन्त्रणमा थिएन । काबुमा थिएन । तर ती घटनाहरुबाट मान्छे भने प्रताडित नै थिए । मान्छेलाई जिज्ञासा लाग्यो– यो संसार के हो ? कसले नियन्त्रण गरिरहेको छ ? को बाट कुन बेला कसरी सञ्चालन हुन्छ ? इत्यादि । मृत्यु अनिवार्य नियम हो । कसैको मृत्यु हुदा मान्छे शोकमा डुब्थे । र थाहा पाउन चाहन्थे, मान्छे किन मर्छ ? मरेपछि कहाँ पुग्छ ? कस्तो ठाऊँमा पुग्छ ? यी सबैे प्रश्नका उत्तर मान्छे जान्न चाहन्थे । प्रत्यक्ष रुपमा मान्छेले उत्तर भौतिक संसारबाट पाएन । यो संसार कुनै दृश्य शक्तिले नियन्त्रण गरेको पाएन । त्यसैले मान्छेको विश्वास अदृश्य शक्तिमा हुन थाल्यो । अदृश्य संसारमा विश्वास हुन पुग्यो । यसरी धर्मको उत्पत्ति भयो ।

धर्मबाट मान्छेले सबै अनुत्तरित प्रश्नका उत्तर पाए । विना कारण धर्म समाजमा आएकोे होइन । आवश्यकताले नै आएको हो । धर्मको जन्म हुन्थेन भने लाखौं वर्ष सम्म मान्छे जङ्गलमा अनुकुल भएर बस्न सक्ने नै थिएन । धर्मले गर्दा मान्छे एक अर्कामा जोडिन थाल्यो । समुहमा बस्न सक्यो । र सभ्यता पनि विकास भयो । धर्म हुन्थेन भने सभ्यता पनि हुन्थेन । सभ्यताको हुन्थेन भने हामी आजको आधुनिक युगमा आउने थिएन ।

के धर्म भनेको नियम, कानुन होइन र ?

अदृश्य शक्तिलाई विश्वास गरेपछि मान्छेलाई स्वतः डर, त्रास हुने भयो । मान्छेले त्यो शक्तिलाई सन्तुलनमा राख्न आवश्यक भयो । सन्तुलनका निम्ति समाजमा नियम, कानुन निर्माण भयो । जस्तै पुजा कुन समयमा गर्ने, कसले गर्ने, के–के चाहिने ? कुन कुन दाज्युभाई, ईष्टमित्र चाहिने ? यी सबै नियमहरु हुन् । त्यसैले धर्मलाई नियम, कानुन पनि भनिएको हो ।

के धर्म भनेको अनुशासन, सेवा होइन र ?

भगवानले हर हमेशा नियालिरहेको हुन्छ भन्ने विश्वास मान्छेमा पैदा भयो । नराम्रो काम गरे भगवानले सजाय दिन्छ भन्ने विश्वास भयो । यसले मान्छेलाई स्वतः अनुशासित गराउछ । मान्छेले एकअर्कोलाई सेवा गरे भगवानले हाम्रो हित गर्छ भन्ने विश्वास छ । त्यसैले धर्मलाई अनुशासन हो भनिएको हो । सेवा, पुन्य हो भनिएको हो ।

धर्मलाई जुनसुकै परिभाषामा बाँधे पनि आखिर जग भनेको अदृश्य शक्ति नै हो । अदृश्य शक्तिको कुरा नआइकन धर्म हुदैन । जहाँ अदृश्य शक्तिको कुरा आउछ, त्यहाँ स्वतः धर्मको कुरा आउछ ।

मान्छेको धर्म किन फरक फरक हुन्छ ?

हरेक समुदायको आ–आफनै अनुभव, भोगाई, इतिहास हुन्छ । समान्य अर्थमा भन्नुपर्दा, फरक भोगाई भएपछि फरक तरिकाले अदृश्य शक्तिको विश्वास हुन पुग्छ । जस्तै हिन्दुहरुको ब्रहम्म, बिष्णु, राम, कृष्णा, शिव इत्यादिको विश्वास गर्छन् भने गुरुङहरुले पितृ, प्रकृतिको अदृश्य शक्तिको विश्वास गर्छन् ।

धर्म र संस्कार

धर्म र संस्कार अलग अलग कुरा होइन । जस्तै बिहान पुजा गर्नु संस्कार हो । पुजामा कुनै न कुनै भगवान पुजिन्छ । भगवान भनेको अदृश्य शक्ति हो । मैंले माथि नै उल्लेख गरिसकेको छु, जहाँ अदृश्य शक्ति जोडिन्छ, त्यो स्वतः धार्मिक हुन्छ । धर्म र संस्कार अन्तरसम्बन्धित हुन्छ । त्यसैले त धर्म अनुसारको फरक फरक संस्कार देख्न पाइन्छ । हिन्दुको आफनै संस्कार छ, बुद्धको आफनै छ, बोनको आफनै छ, क्रिश्चियनको आफनै संस्कार छ । यदि अन्तरसम्बन्धित हुन्थेन भने सबै धर्मको एउटै संस्कार हुनु पर्ने हो । तर यस्तो हुदैन । पुजामा धर्म र संस्कार दुवै हुन्छ ।

अर्को उदाहरण, गुरुङहरुले मरेपछि पय(अर्घुम) गर्छन् । यो मृत्यु संस्कार हो । यहाँ पनि धर्म जोडिएको छ । गुरुङहरुले पितृको शक्तिमा विश्वास गर्छन् । मृत्युपछि अर्घुम गरे सिमि नासा(स्वर्ग) पुग्छ र पितृले हाम्रो रक्षा गर्छ भन्ने विश्वास छ । यदि अर्घुम नगरे मों(दुसाँध) भइदिन्छ र हामीलाई दुख दिन्छ भन्ने विश्वास छ । यो विश्वासले गर्दा नै अर्घुम संस्कार भइरहेको छ ।

यदि गुरुङहरुलाई पितृको विश्वास नै हुन्थेन भने, यदि अर्घुम गरेर सिमि नासा पुगिन्छ भन्ने विश्वास नै हुन्थेन भने के गुरुङहरुले अर्घुम गर्थे होलान् त ? पक्कै गर्थेनन् । पितृ भनेको अदृश्य शक्ति हो । सिमि नासा भनको अदृश्य संसार हो । भनेपछि अर्घुममा धर्म र संस्कार दुवै छ । अर्घुमबाट धर्म हटाए अर्घुम भन्ने नै हुदैन । ल्होसारलाई पनि हेरौं, त्यहाँ पनि धर्म आउछ । ल्हो फेरिन्छ भन्ने विश्वास नै अदृश्य शक्तिको विश्वास हो । धर्म र संस्कारलाई अलग अलग रुपमा हेर्नु हुदैन ।

धर्म र संस्कृति

संस्कृतिको अर्थ धेरै व्यापक छ । धर्म, संस्कार भनेको संस्कृतिको अंग हो । संस्कृति भित्र धर्म, संस्कार, भाषा, भेषभुषा, कला, नाता–सम्बन्ध, रितिथिति, परम्परा, ज्ञान, सीप, राजनिति, नियम, प्रविधि ईत्यादि सबै पर्छन् । हामीले संस्कृतिलाई सामान्य तरिकाले मात्र बुझने गर्छौं । जुन गलत छ । नाचगान, ढ्याङ्ग्रो बजाउनेलाई मात्र हामी संस्कृति ठान्छौं । यो साँगुरो बुझाई हो । संस्कृतिलाई बहृत अर्थमा बुझनु जरुरी छ । मान्छेले आफनो जीवन यापनको लागि गर्ने सम्पुर्ण सामुहिक क्रियाकलाप संस्कृति अन्तर्गत पर्छन् ।

धर्म र पहिचान

संस्कृति नै हाम्रो पहिचान हो । संस्कृतिभित्र धर्म पर्छ । यसबाट प्रष्ट हुन्छ, धर्मले पनि पहिचान झल्काउछ । धर्ममा पहिचान हुदैन भन्ने कुरा सतही कुरा हो । गलत कुरा हो । गुरुङले हिन्दु धर्म मान्दा त्यसमा गुरुङको पहिचान हुदैन । त्यस्तैगरि बुद्ध, क्रिश्चियन, मुस्लिममा गुरुङ पहिचान हुदैन । यो घाम जस्तै छर्लङ्ग छ ।

धार्मिक आस्था र स्वतन्त्रता

मैंले धेरैबाट सुन्ने गरेको छु, धर्म भनेको व्यक्तिगत आस्थाको कुरा हो । जो व्यक्तिले जुनसुकै आस्था राख्न सक्छन्, यो व्यक्तिगत स्वतन्त्रताको कुरा हो भन्छन् । यो सापेक्षिक सत्य हो । यो कुरा त्यतिञ्जेल सम्म मात्र सत्य हुन्छ, जब सम्म पहिचानको कुरा आउदैन ।

धार्मिक स्वतन्त्रता पनि भन्ने र पहिचान पनि जोगाउनु पर्छ भन्ने यो बिरोधाभास कुरा हो । यो दुवै कुरा संगसंगै हुदैन । उदाहरणको लागि, यदि मैंले मुस्लिम धर्ममा आस्था राखे भने मलाई मान्ने स्वतन्त्रता छ । अधिकार छ । यहाँसम्म म सही नै हुन्छु । कसैले मलाई विरोध गर्ने अधिकार हुदैन । तर मैंले गुरुङ पहिचानको ओकालत गर्दै हिड्छु भने म सरासर गलत हुन्छु । हामीेले चर्चा गरेको पहिचान व्यक्तिगत होइन । सामुहिक हो । जनगणनामा झल्काउने खोजेको सामुहिक पहिचान हो ।

स्वतन्त्रताको कुरा जति सुन्दा राम्रो छ, उति नै प्रयोगमा विचार पुर्याउनु आवश्यक छ । पश्चिमा समाजलाई स्वतन्त्रताले जति राम्रो गर्छ, त्यति राम्रो हामीलाई नगर्न सक्तछ । पश्चिमा समाज individualism (व्यक्तिवाद)मा आधारित छ । उनीहरुले हरेक कुरा व्यक्तिको इच्छालाई केन्द्रमा राखेर निर्णय गर्छ । निर्णय गर्दा अरुलाई के असर गर्छ, त्यसको मतलब हुदैन । त्यसको असर पनि समाजलाई पर्दैन । किनकी समाज नै व्यक्तिवादमा आधारित छ । त्यसैले उनीहरुलाई स्वतन्त्रता एकदमै अनुकुल छ । हितकारी छ ।

तर हाम्रो समाज ठिक उल्टो छ । हाम्रो समाज collectivism (सामुहितावाद)मा आधारित छ । हामी पश्चिमाहरु जस्तो ब्यक्तिमा होइन । समुहमा बाँच्दै आएका छौं । हामीले निर्णय गर्दा पनि समुहलाई ख्याल गर्छौं । हाम्रोमा व्यक्ति निर्णायक हुदैन । समुह निर्णायक हुन्छ । यहाँ मेरो आशय स्वतन्त्रता हुनु नै हुदैन भन्ने होइन । स्वतन्त्रतालाई प्रयोग गर्दा यसले नित्याउने गम्भीर खतरा पनि ख्याल गर्नुपर्छ भन्ने हो ।

गुरुङले के धर्म लेख्ने ?

अहिले कुनै गुरुङ संस्थाले बोन लेख्न आब्हान गरेको छ । कुनै संस्थाले बोन वा बुद्ध मध्ये एक लेख्न आब्हान गरेको पाइन्छ । दुई मध्ये एक लेखाउन खोज्नुमा केही राजनितिक कारण पनि देख्छु ।

पहिलो कारण, उत्पीडनमा परेको हिन्दु धर्मबाट उन्मुक्ति हुने । दोस्रो कारण, सबै गुरुङहरुलाई समेट्ने रणनिति । तेस्रो कारण, पहिलेदेखि दुवै धर्म गुरुङको भनेर प्रचार भइरहदा एउटाको मात्र कुरा गर्दा नैतिक संकट हुने । हामी धर्मको बारेमा स्पष्ट हुनु आवश्यक छ । यसले भोलीको पिढिलाई गम्भीर असर पर्ने देखिन्छ । धर्मको बारेमा झगडा होइन । बौद्धिक बहस जरुरी छ ।

गुरुङ धर्म कसरी थाहा पाउने ? सामुहिक रुपमा गुरुङले कस्तो अदृश्य शक्ति माथि विश्वास गर्छ, त्यो नै गुरुङको धर्म हो । गुरुङहरुले हजारौं वर्ष देखि पितृ र प्रकृतिको शक्तिमा विश्वास गर्दै आएका छन् । जुन संस्था, व्यक्तिले बोन लेख्नु पर्छ भनेका छन् उनीहरुले यी दुई शक्तिको विश्वासका कारण भनेका हुन् । यस अर्थमा बोन लेख्दा पहिचान झल्किन्छ ।

कतिपयको तर्क हुन्छ, सबैले बोन धर्म मान्दैनन् ? यहाँ सवाल मान्छ वा मान्दैनको होइन । सवाल पहिचानको हो । संकटमा परेको पहिचान जोगाउने हो या होइन भन्ने हो । यदि धर्ममा पहिचान हुन्थेन भने जे लेखे पनि फरक पर्थेन । तर धर्ममा पहिचान जोडिन्छ । त्यस्तै तर्क गर्दा, सबैले गुरुङ भाषा पनि त बोल्दैनन् । तर हामी गुरुङ भाषा लेख्न सहमत छौं । पहिचानलाई केन्द्र बिन्दुमा राख्न आवश्यक छ ।

के पहिचानको लागि मात्र धर्म हो ?

धार्मिक विश्वास जोडिएर नै पय(अघुर्म) भएको हो । अर्घुमको कारणले गर्दा दाज्युभाई, इष्टमित्रको सम्बन्ध प्रगाढ बनाएको छ । अर्घुम हुदैन भने नाता–सम्बन्धको महत्व नै हराउछ । आत्मियता नै हराउछ । आत्मियता हराएपछि एकता पनि हराउछ । पितृ र प्रकृतिको शक्तिमा विश्वास नभएपछि विभिन्न त्हें(यज्ञ), अर्घुम नै हराउछ । किनभने त्हें, अर्घुम यीनै दुई शक्तिका कारणले गर्दा हुने हो ।

त्हें हराएपछि हाम्रो मौलिक उपचार विधि नै हराउछ । पुर्खासंंगको हाम्रो सम्बन्ध नै हराउछ । त्हें, अर्घुम हराउदा हाम्रो मौलिक पुरोहितहरु पच्यु, क्ह्लेब्री र बोन्पो पनि हराउछ । हाम्रो परोहितहरु हराउदा स्वतः हाम्रो प्ये(शास्त्र) पनि हराउछ । गुरुङ शास्त्र भनेको हजारौं वर्षदेखिको गुरुङ इतिहास, दर्शन, ज्ञान, अनुभव, मनोविज्ञान, जीवनशैली इत्यादिको संगालो हो । हाम्रो शास्त्र हराउदा यी सब कुरा हराउछ । अन्ततः गुरुङ नै हराउछ । धर्मको महत्व गहिराईमा बुझनु आवश्यक छ ।

किन हुन्छ धर्मको बिरोध ?

मेरो विचारमा धर्म दुई कारणले विकृत हुन पुग्दछ । पहिलो कुरा, धर्मलाई शासकहरुले आफनो स्वार्थका लागि प्रयोग गरिहेका हुन्छन् । शासकहरुले आफुलाई भगवानको अवतारको रुपमा प्रचार गर्दै जनतामा भ्रम पैmलाएर शासन गरेको इतिहास धेरै पाइन्छ । नेपालमा पनि राजालाई विष्णुको अवतार भन्थे । अवतार भनेपछि विना संकोच जनता जे भने पनि आदेश मान्न तयार हुन्छन् । जसले गर्दा शासन गर्न सहज बनाउछ । जात प्रथाले गर्दा दलितहरु दलिएका छन्, यसमा धर्मको पनि हात छ । नेपालमा शासकहरुले हिन्दु धर्मलाई शासनको लागि हतियार बनाइरहेका छन् । त्यसैले माक्र्सले धर्मलाई अफिम भनेका हुन् । तर धर्मले संधै अफिमको काम भने गर्दैन ।

दोस्रो कुरा, धर्ममा अन्धविश्वास पनि जोडिन्छ । जस्तो भुकम्प आउनुको कारण पृथ्वी कचुवाले अडिएको छ र कचुवा हलचल हुदा जमिन हलचल हुन्छ भन्ने अन्धविश्वास छ । कतै कतै माछाले कानले हल्लाएकोले भुकम्प आउछ भन्ने अन्धविश्वास पाइन्छ । यो कुरा सत्य होइन ।

धर्ममा हुने यस्तै नकारत्मक पाटाहरुप्रति हामी सदैव सचेत हुनु पर्दछ । र धर्मले दिने सकारात्मक पाटालाई अँगाल्नु पर्दछ । गुरुङहरुले पितृलाई पुज्दा धेरै फाइदाहरु छन् । त्यसरी नै प्रकृतिलाई पुज्दा प्रकृतिप्रतिको प्रेम र संरक्षण पनि गराएको छ । यस्ता धेरै फाइदाहरु छन् । सबै कुरा यहाँ उल्लेख गर्न सम्भव छैन ।

निष्कर्ष

धर्म भनेको अदृश्य शक्तिको विश्वास हो । धर्मको जन्म मानव समाजमा आवश्यकताले नै भएको हो । धर्म र संस्कार अलग अलग कुरा होइन । धर्ममा पनि पहिचान हुन्छ । कसैले कुनै धर्म मान्दैमा गाली गर्नु हुदैन । बरु नबुझेमा बुझाउने हो । कुन धर्म मान्ने ? यो कुरामा सबैलाई स्वतन्त्रता छ । अबको जनगणनामा स्वतन्त्रता प्रयोग गर्ने की पहिचान ? निर्णय तपाईको हातमा छ ।

– रोशन ‘ईन्जिनियर/ मानवशास्त्री’ हुन् । उनको पुस्तक ‘The science of Gurung culture’ अब केही महिना पछि प्रकाशन हुदै छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments