द लन्डन बरो अफ हन्स्लोका मेयरबाट गोर्खा मिडियाका प्रबन्ध निर्देशक तमु र सहसम्पादक गुरुङ सम्मानित
लन्डन ११ मे २०२२ । गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु र सहसम्पादक प्रकाश गुरुङ द लन्डन बरो अफ हन्स्लोका मेयर विष्णुबहादुर गुरुङबाट सम्मानित भएका छन् ।
सत्य, तथ्य र विश्वसनीय पत्रकारितामार्फत नागरिकलाई सुसूचित गर्दै बेलायतलगायत प्रवासी नेपालीमाझ छोटो अवधिमै गोर्खा मिडियाले लोकप्रियता हासिल गरेको भन्दै आफ्नै कार्यालय हन्स्लो हाउसमा दुवै जनालाई प्रमाणपत्रद्वारा सम्मान गरेका हुन् । आफू मेयर हुँदा विभिन्न कार्यक्रमहरुका समाचार संकलन गरी जनमानससम्म पुर्याउन योगदान दिएको भन्दै प्रबन्ध निर्देशक तमु र सहसम्पादक गुरुङलाई कृतज्ञतासमेत व्यक्त गरे ।
अक्टोबर २०२१ मा भएको मेयरको उद्घाटन, स्वागत समारोहमा गोर्खा मिडियाले उल्लेखनीय काम गरेकोसमेत मेयर गुरुङले प्रशंसा गरेका छन् । गोर्खा मिडिया अनलाइन सन् २०२० सेप्टेम्बर १४ मा तत्कालीन नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले शुभारम्भ गरेका थिए ।
आफूहरुको सञ्चारकर्मको मेयरबाट मूल्यांकन र प्रशंसा पाएकोमा प्रबन्ध निर्देशक तमु र सहसम्पादकले खुसी व्यक्त गरेका छन् ।
विष्णुबहादुर गुरुङ बेलायतका नेपाली/गोर्खाहरुबाट पहिलो मेयर हुन् भने लन्डन बरो अफ हन्स्लोका ५६ औं मेयर हुन् । लेबर पार्टीबाट २०१४ सालमा पहिलो पटक काउन्सिलरमा निर्वाचित भएपछि लगातर तीन पटक आफ्नै वार्ड हनवर्थ पार्कबाट काउन्सलरमा निर्वाचित भएका छन् । बेलायती राजनीतिमा राम्रो भिजिसकेका गुरुङ फुलटाईम काम भने लन्डन सहरमा बस चलाउँछन् । उनी नेपाली र बेलायती समाजमा एक असल व्यक्तिको उदाहरण रहेको निकटस्थहरु बताउँछन् । उनी ५ मे २०२२ मा भएको स्थानीय चुनावमा तेस्रो पटक निर्वाचित भएका हुन् ।
करिब दुई दशक बेलायती सेनामा सेवा गरेका गुरुङ सन् १९९५ मा सेनाबाट अवकाश भएपछि सन् २००५ देखि सपरिवार बेलायतमा बस्दै आएका छन् । सन् २०११ बाट लेबर पार्टीको सदस्यता लिएका गुरुङ सन् २०१४ देखि स्थानीय राजनीतिमा निरन्तर संलग्न हुँदै आएका हुन् । गोर्खा नेप्लिज् कम्युनिटी हन्स्लोका संस्थापक अध्यक्षसमेत रहेका गुरुङ देवाचन बुद्धिष्ट सेन्टर यूकेको सल्लाहकारसमेत हुन् ।
उनी आर्मड् फोर्सेस च्यारिटी (साफा) मा पनि आबद्ध रहँदै सामाजिक कार्यमा योगदान दिंदै आएका छन् । विशेषगरी भाषा समस्या भएका पूर्व गोर्खाहरुको लागि हाउजिङ सुविधालगायत थुप्रै सहयोग गर्दै आएको छन् ।