तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशन १८ बुँदे चितवन घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न
चितवन । तमू ह्युल धोंज धीं गुरुङ राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशनले १८ बुँदे चितवन घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्र तयारी समितिका संयोजक प्राडा योगेन्द्र तमूले घोषणापत्र सार्वजनिक गर्दै गण्डकी प्रदेशलाई तमुवान प्रदेश घोषणा गर्नुपर्ने बताए ।
गण्डकी प्रदेशमा तमूहरुको बाहुल्यता रहेकाले प्रदेशलाई तमुवान घोषणा गर्न अल्पकालिन तथा दीर्घकालिन रणनीति तय गर्ने निर्णय भएको बताए । अन्य प्रदेशहरुममा समेत तमुहरुको पहिचान र अधिकार सुनिश्चित गर्न तमू स्वशासित क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रहरु स्थापना गर्न पहल गरिने बताए। जातीय जनसंख्याका आधारमा पूर्ण समानुपातिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चत गर्ने, जातीय विभेद विरुद्ध आन्दोलन गर्ने, आदिवासी जनजातिका पहिचान र अधिकारी सुनिश्चित गर्न सरकारले सम्झौता गरेका अन्र्तराष्ट्रिय महासन्धिहरु कार्यान्वयन गर्नुपर्ने लगायतका विषयहरु घोषणापत्रमा उल्लेख छन् ।
संघमा १ प्रतिशतभन्दा धेरै जनताले बोल्ने भाषा र प्रदेश ४ मा भाषा आयोगबाट सिफारिस भएअनुसार तमू र मगरको भाषालाई सरकारी कामकाजको भाषाका रुपमा लागू गर्न माग गरेको छ । प्राथमिकदेखि उच्च तथा अनुसन्धानमूलक शिक्षामा तमू विद्यार्थीहरुलाई उचित छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने, क्होला सों प्रे ट्होलाई राष्ट्रिय सम्पदाको सूचिमा राख्न सरकारको ध्यानाकर्षण गराइएको छ । सुकदेव तमू, सुपति तमू, श्रीपति तमूलाई राष्ट्रिय सहिद, हर्क तमू झागल तमू, वंशु तमूलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ ।
प्रकाशित मिति :चैत्र २९, २०७८ मंगलवार – २१:३६:३२ बजे