तमु सांस्कृतिक प्रतिष्ठान नेपालले संखुवासभा र ताप्लेजुङका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरे
२०७७, पौष २७, संखुवासभा । मणी तमु
तमु सांस्कृतिक प्रतिष्ठान नेपालले संखुवासभा र ताप्लेजुङमा विपन्न तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई एक औपचारिक कार्यक्रममा छात्रवृत्ति वितरण गरेको छ ।
तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा गीता तमु, कक्षा ९, श्री सरस्वती मोडेल विद्यालय, आठराई, त्रिबेणी गाउँपालिका -३, हाङपाङ ताप्लेजुंग, डा.शेष घले तथा जमुना घले छात्रवृत्ति एक जना र सन्तु माया तमु, कक्षा ९, श्री सरस्वती मा.वि.,चिचिला -४, संखुवासभा, स्व . मिङ्गमा छात्रवृति र सौजन तमु, कक्षा ९, श्री सरस्वती मा.वि., चिचिला -४,संखुवासभा, डा.शेष घले तथा जमुना घले छात्रवृति दुइ जना आठ कक्षा उतीर्ण भएका विपन्न तथा जेहेन्दार छात्रछात्राहरुलाई प्रतिष्ठानका वेबसाइट प्रबन्धक एवं कार्यसमितिका सदस्य मणी लाल तमु, प्रमुख अतिथि तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्ष हितकाजी तमु, विशेष अतिथि पूर्व प्रहरी महानिरीक्षक तथा तमु प्ये ल्हु संघ काठमाडौं उपत्यकाका अध्यक्ष हेम बहादुर तमु र चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाद्वारा छात्रवृत्ति वितरण गरिएको हो ।
तमु सांस्कृतिक प्रतिष्ठान नेपालको स्थापना सन् २००१ मा भएको हो । ग्रामीण भेगका विपन्न तमु विद्यार्थीहरुलाई शिक्षामा प्रोत्साहन गर्नको लागि यस संस्थाले छात्रवृत्ति कार्यक्रमलाई अघि बढाएको हो । बास्तवमा यसको सुरुवात हरेक वर्षको एस एल सी मा देशभरका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मध्ये उत्कृष्ट अंक ल्याउन सफल २ छात्र र २ छात्रा गरी ४ जनालाई नगद पुरस्कार दिएर प्रोत्साहन गर्दै आएको थियो । तर एस एल सी को मार्किङ ग्रेडिङ्गमा लगे पछि भने यस कार्यक्रमलाई स्थगन गरिएको छ ।
वि स २०६५ देखि व्यक्तिगत तथा संस्थागतरुपमा अक्षयकोषको स्थापना गरी हरेक वर्ष यस संस्थले विभिन्न जिल्लाहरुका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ७ उत्तीर्ण गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरु मध्येबाट लिखित तथा अन्तर्वार्ताको माध्यमद्वारा कोटा निर्धारण गरेर मेरिटको आधारमा छनौट गरी कक्षा ८,९ र १० मा गरी लगातार ३ वर्ष छात्रवृत्ति प्रदान आइरहेको थियो । पछिल्लो समय नेपाल सरकार शिक्षा विभागले कक्षा १२ सम्मलाई माध्यमिक तह बनाएपछि सो छनौट प्रक्रियामा थोरै फेरबदल गरेर अहिले कक्षा ८ उतिर्णलाई परीक्षा लिएर कक्षा ९,१०,११ र १२ गरी ४ वर्ष लगातार छात्रवृत्ति दिदै आएको छ । छात्रवृत्तिको धनराशी जनही वार्षिक रु ८ हजार रहेको छ ।
हाल १७ जिल्लाका १०४ जना तमु विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गरिदै आएको छ ।
यसरी सानो धनराशिको छात्रवृत्ति भएपनि दिदा विद्यार्थीमा हौसला थपिने र गर्व महशुस गर्नुका साथै अध्ययनमा निखार आउने देखिन्छ ।
हामीले छात्रवृत्ति दिएका विद्यार्थीहरुको एस. एल. सी. अथवा एस. ई.ई. उत्तीर्ण दर शतप्रतिशत रहेको छ ।
छात्रवृत्ति बाहेक अन्य बिबिध शिर्षक(तमु भाषा, धर्मा, संस्कार, संस्कृति, खेलकुद, साहित्य र समाजसेवा ) क्षेत्रमा योगदान पुर्याएका स्रष्टाहरुलाई समेत यस संस्थाले सम्मान गर्दै आइरहेको छ ।