लन्डन डिसेम्बर १७ । तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ दम्पतीले कास्की र स्याङ्जा जिल्लाको सिमास्थित मनोरमस्थल साल्मेडाँडामा निर्माणाधीन गोरखा स्मारकको अवकलोन भ्रमण गरेका छन् ।
पारिवारिक र सामाजिक काम मातृभूमि नेपालमा आएका संस्थापक अध्यक्ष गुरुङ र उनकी श्रीमती जयन्तीदेवी गुरुङले यसै साता गोर्खा स्मारकको अवलोकन गरेका हुन् । स्याङ्जा सिरुबारीका भूपू ब्रिटिस गोर्खा सैनिक गुरुङ दम्पतीलाई गोर्खा स्मारक ट्रस्ट साल्मेडॅाडा नेपालका महासचिव डा चन्द्र गुरुङले स्मारक निर्माणको अवस्थाबारे जानकारी गराएका थिए ।
आर्थिक अभावले स्मारक निर्माण प्रभावित हुन लागेकोले बेलायतवासी नेपालीमाझ सत्यतथ्य पुर्याइदिन महासचिव डा गुरुङले आफूलाई आग्रह गरेको संस्थापक अध्यक्ष गुरुङले गोर्खा मिडियालाई जानकारी दिए । एनआरएनएका सल्लाहकार समेत रहेका समाजसेवी गुरुङले आफूले सकेको सहयोग र बेलायतवासी नेपालीकहाँ सन्देश पुर्याउने वचन दिएको बताए । गुरुङ दम्पती शुक्रबार बिहान कर्मभूमि बेलायत प्रस्थान गरेका छन् । आमाको संस्कारका लागि मातृभूमि आएका गुरुङले बुधबार नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटवार्ता गरेर भूपू सैनिकका विद्यमान समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
स्याङ्जाको फेदीखोला गाउँपालिका–८ स्थित साल्मेडाँडामा प्रथम तथा दोस्रो विश्वयुद्धका क्रममा दिवंगत हुने ६० हजार गोर्खाली सैनिकको सम्झनामा स्मारकसहित संग्रहालय तथा पाँच डिब्बाको रेल, गोर्खा भ्यू टावर र जातीय सांस्कृतिक ग्राम निर्माण जारी छ । तीनसय रोपनी जग्गामा निर्माण गरिने स्मारकमा भौतिक संरचना तयार गर्न कूल ९ अर्ब रुपैयाँ खर्च हुने र हालसम्म ब्रिटिस सेनामा कार्यरत नेपालीले ९ करोड तथा सहरी विकास मन्त्रालयबाट ५ करोड रकम संकलन भएको स्मारक निर्माण समितिका अध्यक्ष पुरनध्वज गुरुङले जानकारी दिएका छन् ।
नेपालमा जातीय सद्भाव कायम गर्ने उद्देश्यका साथ १७ जातिका मानिसलाई लक्षित गरी लगभग ३०० जना क्षमताको जातीय अनुसन्धान केन्द्र भवन, अत्याधुनिक टावर, रेष्टुराँसमेत निर्माण गरिने योजना रहेको उनले जानकारी दिए । उनका अनुसार साल्मेडाँडाबाट मट्टिखान हुँदै कास्कीको दक्षिणभेगस्थित भरतपोखरीसम्म करीब १५ देखि २० किलोमिटर दूरीको पाँच डिब्बाको रेल सञ्चालनमा ल्याउने तयारीमा समिति जुटेको छ ।
पोखराको दक्षिणी भेगमा पर्ने उक्त क्षेत्रबाट रेलमा शयर गर्दै धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमशृंखला एवं फेवातालसहित पोखरा बजारको दृष्यावलोकन गर्न सकिने उनले बताए । उनका अनुसार स्मारकमा गोर्खाली र इस्टइन्डियाबीच भएको पहिलो लडाइँ १८१४ देखि मारिएका सैनिकहरुको नाम राखिने छ ।