तमु प्ये ल्हु संघ, केन्द्रिय कार्यसमितिको ३०औं वार्षिक साधारणसभा सम्पन्न !
२८ फागुन २०७८ पोखरा ।
तमु प्ये ल्हु संघ, केन्द्रिय समितिको ३०औं वार्षिक साधारणसभा आज पोखराको फ-लि-ना क्होइबो पोखरा-११ शक्तिघाट रानीपौवामा सम्पन्न भएको छ ।
संघका केन्द्रिय अध्यक्ष हितकाजी टुक्ल्हेप्री तमुको अध्यक्षतामा र नेपाली कांग्रेस केन्द्रिय उपसभापति एवं संविधानसभा सदस्य माननीय धनराज तमुको प्रमुख आतिथ्यतामा वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्पन्न गरेको हो ।
यसैगरी बन्द सत्रमा केन्द्रिय कार्यसमितिले संघको गतिविधि, भावी कार्यनीति, सांगठनिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समितिका कोषाध्यक्ष विदेश भ्रमणमा रहेको र कार्यवाहक कोषाध्यक्ष पनि पोखरा बाहिर रहेकोले समितिको आर्थिक प्रतिवेदन समितिका उप-महासचिवले प्रस्तुत इन्द्र कुमारी तमुले गरेकी थिइन ।
नेपालको थुप्रै आदिवासी जनजाति मध्ये आफ्नो मौलिक जातीय विषेशताहरु संगालिएको तमु जातिको परापूर्वकालदेखी चलिआएको आफ्नै भाषा, भेषभुषा, पुर्ख्यौली अभ्यास, अनुभव र अनुभूति तथा आस्था र विश्वासमा आधारित सम्पूर्ण तमुहरुको पितृ पुजक बोन धर्म (तमु प्ये ताँ ल्हु ताँ) धार्मिक संस्कार तथा संस्कृतिको क्रमिक सुधार संरक्षण एवं सम्बर्द्धन गर्ने उद्देश्यले २०४७ कार्तिक ३ गते तमु प्ये ल्हु संघ विधिवत दर्ता भइ हालसम्म आइपुग्दा संघले २४ वटा जिल्लाहरूमा संगठन बिस्तार भइसकेको छ । जसमा कास्की, स्याङ्जा, लमजुङ, तनहुँ, गोरखा, नवलपुर, पर्वत, म्याग्दी, बागलुङ, काठमाडौ, चितवन, रुपन्देही, नवलपरासी, इलाम, पाँचथर, ताप्लेजुङ, झापा, सुनसरी, तेह्रथुम, संखुवासभा, रोल्पा, बर्दिया, कंचनपुर, प्युठान पर्दछ । भने विदेश शाखाहरु बेलायत, हङकङ, दुबई, कुवेत, कतार, साउदी अरब, अमेरिका, इजरायल र भारतको बनारसमा समेत तमु प्ये ल्हु संघ गठन भएको छ र अन्य देशहरुमा पनि संगठन बिस्तार हुनलागेको अवस्था संघका महासचिव हर्क योज तमुको सांगठनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यसैगरी राज्यको पहुँचसम्म आफ्नो मौलिक पहिचान स्थापित गर्न देश विदेशमा रहनुहुने तमु प्ये ताँ ल्हु ताँ बादी तमुहरुको साथ सहयोग र सद्भावले यो संस्थालाई यहाँसम्म ल्याई पुर्याएको र भावी दिनहरुमा व्यक्ति विशेषबाट भन्दा पनि राज्यकोषबाट सहयोग आउनेगरी कार्यसमितिले थुप्रै भावी कार्ययोजनाहरु तयार पारेको छ ।
तमु प्ये ल्हु संघद्वारा सञ्चालित तमु जातिको जन्मदेखी मृत्युसम्मका संस्कारहरुमा खेगी गुरुहरु पच्यु क्ल्हेप्री र बोनलमहरु प्रयोग गर्दै आइरहेको कुरा पनि प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।
संघमा आवद्ध परम संरक्षकहरु, संरक्षकहरु, प्रदेश अध्यक्षहरु, प्रतिनिधिहरु, जिल्ला अध्यक्षहरु, प्रतिनिधिहरु, भातृ समितिका अध्यक्षहरु, प्रतिनिधिहरु, विदेश शाखाका प्रतिनिधिहरु, इकाई प्रतिनिधिहरु, क्षेत्रीय समाजका प्रतिनिधिहरु, संघका केन्द्रिय सल्लाहकारहरु, बौद्धिक सर्कलका विशेष व्यक्तित्वहरु र पत्रकारहरु बीच सम्पन्न भएको तमु प्ये ल्हु संघ केन्द्रिय समितिको ३०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रिय उपसभापति एवं संविधान सभा सदस्य माननीय धनराज तमु, संघले तयार पारेको १ अरब २५ करोडको गुरुयोजनालाई सफल पार्न आफू कटिबद्ध रहेको बताउँछन् ।
कार्यक्रममा तमु प्ये ल्हु संघका परम सम्रक्षक, डा. योगेन्द्र गुरुङ, डा. टेक गुरुङ, बरिष्ठ संचारकर्मी रेडियो नेपालका समाचार वाचिका रिता गुरुङ, तमु प्ये ल्हु संघ काठमाडौं उपत्यकाका अध्यक्ष पुर्ब नेपाल प्रहरी महानिरीक्षक हेम बाहदुर त्होर्जे तमु(गुरुङ), संघका केन्द्रिय महिला समितिका अध्यक्ष पुष्प तेल्मे तमु, तमु प्ये ल्हु संघ अमेरिका न्यु योर्कका अध्यक्ष लगायतले आफ्ना शुभकामना मन्तब्य राखेका थिए ।
यसरी सम्पन्न भएको केन्द्रिय समितिको वार्षिक साधारणसभालाई स्वागत गर्दै संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष आइ बहादुर ल्हेंगे तमुले स्वागत मन्तव्य राखेका थिए भने महासचिव हर्क योज तमुले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै कार्यक्रमलाई औपचारिक सञ्चालन गरेका थिए ।
फेसबुक फोटो एल्बममा फोटो हेर्नुहोस्
तमु प्ये ल्हु संघ, केन्द्रिय कार्यसमितिको ३०औं वार्षिक साधारणसभा सम्पन्न !