तमु प्ये ल्हु संघ अन्तर्राष्ट्रिय ल्वोँ लो ल्होसार भव्य रुपमा सम्पन्न
लन्डन पुस १७ । तमु प्ये ल्हु संघ अन्तर्राष्ट्रिय ल्वोँ लो ल्होसार पुस १५ सफलतापूर्ण सम्पन्न गरिएको छ । कोरोना भाइरसको विषम परिस्थितिको कारण यस वर्ष तमुहरुको महान् चार्ड पुस १५ ल्वोँ लो ल्होसार गत वर्षहरुमा जस्तो धुमधाम कार्यक्रम आयोजना गरी मनाउन असमर्थ भए तापनि तमु प्ये ल्हु संघ केन्द्र पोखरा, नेपालको अनुमतिमा तमु प्ये ल्हु संघ शाखा युकेले अध्यक्षा मेजर खुशीमान ल्हेँगे तमु एमभिओको संयोजकत्वमा ल्होसारकै दिन पुस १५ डिसेम्बर ३० मा तमु प्ये ल्हु संघ अन्तर्राष्ट्रिय जुम भर्चुयल ल्होसार कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्र नेपाललगायत स्वदेश तथा बिदेशभरी क्रियाशील बिभिन्न देशहरुमा स्थापित तमु प्ये ल्हु संघ शाखा, उपशाखाहरु सबैको बिच एकआपसमा भेटघाट गर्ने र शुभकामना आदनप्रदान गर्ने उद्देश्य रहेको थियो । तमु प्ये ल्हु संघ केन्द्रको निर्देशनमा स्थापित स्वदेश तथा बिदेशमा रहेका लगभग २०० सय वटा शाखा उपशाखाहरुमध्ये विशेषगरी नेपालको शाखा उपशाखाहरुमा इन्टरनेट प्राबिधिक समस्याको करण सबै शाखा उपशाखाहरुसँग सम्पर्क हुन नसकेको हुँदा तमु प्ये ल्हु संघ युके शाखाका मिडिया कोअर्डिनेटर नेत्र टु क्ल्हेप्री तमुको नेतृत्वमा संकलित सम्पर्कमा ल्याउन सफल स्वदेश तथा बिदेशी शाखा उपशाखाका अध्यक्ष्या तथा प्रतिनिधिहरुको बिच एकआपसमा निकै राम्रो भलाकुसारी गर्ने शुभ-अवसर मिलेको थियो ।
तमु प्ये ल्हु संघ को उक्त प्रथम अन्तर्राष्ट्रिय भर्च्युयल कार्यक्रममा युकेका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुबेदी प्रमुख अतिथि थिए भने बिशेष अतिथिहरुमा तमु प्ये ल्हु संघ केन्द्रका अध्यक्ष्य हितकाजी टु क्ल्हेप्री तमु, तमु धिं यूकेका अध्यक्ष नन्दजंग लेम तमु, तमु प्ये ल्हु संघ शाखा काठमाडौंका अध्यक्ष्य तथा पूर्वप्रहरी महानिरीक्षक आइजीपी हेमबहादुर त्होर्जे तमु र तमु प्ये ल्हु संघ युकेका प्रमुख सल्लाहकार मदन प्ल्हेँ तमु थिए ।
खेगी गुरुहरुमा तमु प्ये ल्हु संघ केन्द्रका संस्थापक तथा तमु प्ये ल्हु संघ शाखा युकेका संस्थापक पच्यु पैंडी चिव यारजङ क्रोम्छे तमु, केन्द्रीय क्ल्हेप्री समितिका अध्यक्ष क्ल्हेप्री गुरु क्ल्हेप्री चिव लोकबहादुर टु क्ल्हेप्री तमु, केन्द्रीय लम् समितिका अध्यक्ष लम् चिव गंगाबहादुर पैँगी लम् तमु, तमु प्ये ल्हु संघ शाखा न्युयोर्क अमेरिकाका क्ल्हेप्री गुरु क्ल्हेप्री चिव कुमबहादुर टु क्ल्हेप्री तमु गुरुहरुको उपस्थिति रहेको थियो ।
युकेको समय बिहान ११:४५ बजेबाट सुरु भएको कार्यक्रम तमु प्ये ल्हु संघ युकेका महासचिव खेमबहादुर सरब्ज तमु र तमु प्ये ल्हु संघ युकेका मिडिया कोअर्डिनेटर नेत्र टु क्ल्हेप्री तमुले सन्चालन गरेका थिए भने तमु प्ये ल्हु संघ युकेका प्रथम उपाध्यक्ष रनबहादुर टु क्ल्हेप्री तमुले स्वागत मन्तव्य राख्दै भर्च्युयलमा उपस्थित सबै अतिथि तथा प्रतिनिधिहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा पच्यु पैंडी चिव याराजङ क्रोम्छे तमु, क्ल्हेप्री चिव कुमबहादुर टु क्ल्हेप्री तमु र लम् चिव गंगबहादुर पैँगी लम् तमु ज्युले क्रमस ल्वोँलो ल्होसारको शुभअवसरमा भर्च्युयलमा उपस्थित सबै महानुभावलगायत इन्टरनेटको माध्यमबाट संसारभरीबाट प्रत्यक्ष हेरिरहेका सबै तमु तथा सबै नेपालीहरुको सुस्वास्थ्यको लागि टसीँमँला (शुभ आशीर्वाद) दिएका थिए ।
कार्यक्रमलाई अगाडि बढाउँदै संयोजक मेजर खुशीमान ल्हेँगे तमु एमभिओले कार्यक्रमको उद्देश्य र लक्ष्यको बारेमा बिस्तृत जानकारी गराएका थिए । लगत्तै पच्यु पैंडी चिब यारजङ क्रोम्छे तमुले हाम्रो यो महान् पर्बको नाम किन ल्होसार राखियो भन्ने बारेमा प्येमा भएअनुसार प्रस्ट्याउँदै आगामी वर्षभरिको लागि सुरु हुने ल्वोँलो ल्हो र अन्य १२ वटा ल्होहरुमा कुन ल्हो राम्रो र कुन ल्हो नराम्रो छ भन्ने बारेमा ल्वोँलो ल्होको आवागमसँगै अन्य ल्होहरुको ल्होफल सम्बन्धी जानकारी गराएका थिए । र हाम्रो तमु संवाद ल्हेकोर र तमु ल्होकोरको बारेमा पनि विस्तृत जानकारी गराएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा दुर्गबहादुर सुबेदीले तमु प्ये ल्हु संघ यूकेले आफ्नो समय अवधिभित्र आयोजना गरेका हरेक कार्यक्रममा निमन्त्रणा गरेकोले हरेक क्रार्यक्रमहरुमा तमु प्ये ल्हु संघ युकेसँग सँगै बसेर तमु जातिको मौलिक प्ये ताँ ल्हु ताँ, तमु मौलिक संस्कार संस्कृतिको बारेमा गहिरिएर बुझ्ने शुभ अवसर मिलेको धारणा राखेका थिए । उनले आफ्नो बेलायत बसाईको अवधिमा तमु प्ये ल्हु संघ तथा विशेषगरी अध्यक्षसँग नजिक रहेर एक आपसमा सुख दु:खका कुराहरु आदनप्रदान गर्ने मौका मिलेको कुरा राखेका थिए । र हाल उनको बेलायतको जिम्मेवारीलाई पूरा गरेर स्वदेश फर्किने बेलामा आज यो अन्तिमा ल्वोँलो ल्होसार पनि यसरी सँगै बसेर मनाउन पाउदा ज्यादै खुशी रहेको कुरा ब्यक्त गरेका थिए । त्यसपछि उनलाई तमु प्ये ल्हु संघ युके शाखाको तर्फबाट र भर्च्युयलमा उपस्थित बिश्वभरिकै सम्पूर्ण प्ये ल्हु संघ शाखा उपशाखाहरुको तर्फबाट तमु प्ये ल्हु संघको सानो उपहार प्रदान गरेर बिदाई गरियो । उनले बिदाईको क्रममा तमु प्ये ल्हु संघप्रति निकै भावुकतापूर्ण शब्दहरु राखेर तमु प्ये ल्हु संघको भविष्यप्रती उत्तरोत्तर प्रगतिको कामना गर्दै बिदा लिएका थिए ।
कार्यक्रममा बिशेष अतिथिको रुपमा रहेका प्ये ल्हु संघ केन्द्रिय अध्यक्ष हितकाजी टु क्ल्हेप्री तमुले, तमु प्ये ल्हु संघ युकेले आयोजना गरेको यस्तो महत्वपूर्ण कार्यक्रमप्रति अभार ब्यक्त गर्दै कार्यक्रममा उपस्थित सम्पूर्ण शाखा, उपशाखाका प्रतिनिधिहरु लगायत भर्च्युयलमा प्रत्यक्ष जोडिएका सम्पूर्ण बुद्धिजीबीहरु लगायत संसारभरीबाट प्रत्यक्ष लाईभ हेरिरहेका सम्पूर्ण तमु तथा गैर तमुहरु सबैलाई ल्वोँलो ल्होसारको पुनित अवासरमा शुभकामना दिएका थिए ।
यसैगरी विशेष अतिथिको रुपमा रहेका तमु प्ये ल्हु संघ काठमाडौंका अध्यक्ष पूर्वप्रहरी महानिरीक्षक आईजीपी हेमबहादुर त्होर्जे तमुले तमु प्ये ल्हु संघले तमु जातिको मौलिक धर्म, संस्कार संस्कृति, प्ये ताँ ल्हु ताँ को उत्थान र बिकासका लागि भविष्यमा सोच्नु पर्ने र विचरा पुर्याउनु पर्ने मुख्य कुराहरुको बारेमा सबै लाई सतर्कता रहनु पर्ने कुरा अवगत गराएका थिए । यसैगरी भर्च्युयल कार्यक्रममा उपस्थित रहेका विभिन्न जिल्लाका शाखा उपशाखाका प्रतिनिधिहरु कास्की, स्याङ्जा, बुटवल, भैरहवा, रुपन्देही, नवलपुर, नवलपरासी, चितवन, निधुरादिन ताप्लेजुङ, लमजुङ, गोर्खा, काठमाडौंलगायत देश बाहिर विभिन्न देशहरुमा स्थापित शाखाहरुमा, हङकङ, युके, युईए दुबई, कतार, कुवेत, बहराईन, ईजरायल, साउदी अरब, न्युयोर्क सिटी अमेरिका, कोलोराडो सिटी अमेरिकाका अध्यक्षहरु तथा प्रतिनिधिहरुले आ-आफ्नो शाखा उपशाखाको बारेमा विस्तृत रुपमा जानकारी दिँदै ल्वोँलो ल्होसारको शुभकामना ब्यक्त गरेका थिए ।
यसैगरी तमु प्ये ल्हु संघ केन्द्र पोखराको आमा समूहको अध्यक्ष तथा युवा समितिको अध्यक्षको उपस्थिति रहेको थियो भने तमु प्ये ल्हु संघ युकेको आमा समुहका अध्यक्ष बिष्णु टु क्ल्हेप्री तमुले पनि कार्यक्रममा उपस्थित सबैलाई ल्होसारको शुभकामना दिएकी थिइन् । त्यस्तै प्रकारले तमु प्ये ल्हु संघ केन्द्रका क्ल्हेप्री अध्यक्षले केन्द्रमा रहेको सबै खेगी गुरुहरुको बारेमा जानकारी गराएका थिए ।
ल्होसारको दिनमा तमुहरुको मौलिक परम्पराअनुसार जतिपनी खेगी गुरुहरु आबद्ध रहेका बिभिन्न शाखा उपशाखाहरुमा ग्रह काट्ने, नराम्रो दोख दुसातहरु पन्छाउने, रोकबार गर्नेजस्ता बिभिन्न त्हाँ त्हेँ हरु गरिरहेको हुनाले तमु प्ये ल्हु संघ युकेका सहायक मिडिया कोअर्डिनेटर भवनी च्हम्रु तमु र बिशेष वेबसाईट प्रबन्धक ईन्द्रेश ङ्होब्छे तमुको सहायतामा विशेषगरी तमु प्ये ल्हु संघ हङकङ, तमु प्ये ल्हु संघ केन्द्र र तमु प्ये ल्हु संघ युकेमा भइरहेको त्हाँ त्हेँ को प्रत्यक्ष लाईभ भिडियोहरु पनि प्रस्तुत गरिएको थियो । त्यसपछि विशेष अतिथिको रुपमा रहेका तमु प्ये ल्हु संघ युकेका प्रमुख सल्लाहकार मदन प्ल्हेँ तमुले अगाडिका सबै कुराहरुलाई समेटेर तमु प्ये ल्हु संघ युकेले आयोजना गरेको यो पहिलो तमु प्ये ल्हु संघ अन्तर्राष्ट्रिय भर्च्युयल कार्यक्रम एकदमै सफलतापूर्ण एउटा ऐतिहासिक कार्यक्रम रहेको कुरा पुष्टि गरेका थिए । उनले अगाडि बोलेका बिभिन्न प्रतिनिधि बक्ताहरुको भनाइ दोहोर्याउँदै तमु प्ये ल्हु संघले यस्ता कार्यक्रमहरु आउँदो दिनहरुमा निरन्तरता दिँदै गएमा आज छुट्न गएका बिभिन्न शाखा उपशाखाहरुसँग पनि एकआपसमा यसरी नै भलाकुसारी गर्ने मौका पाएमा तमु प्ये ल्हु संघलाई धेरै फाइदा हुने सुझाब दिएका थिए ।
कार्यक्रमको अन्तमा तमु प्ये ल्हु संघ अन्तर्रास्ट्रिय भर्च्युयल ल्होसार कार्यक्रमका संयोजक तथा तमु प्ये ल्हु संघ युकेका अध्यक्ष मेजर खुशीमान ल्हेँगे तमु (एमभिओ)ले उपस्थित प्रमुख अतिथि, विशेष अतिथिहरु, सम्पूर्ण खेगी गुरुहरु, बिभिन्न शाखा उपशाखाबाट सहभागी सम्पूर्ण अध्यक्षहरु, प्रतिनिधिहरुलाई भर्च्युयल ल्होसार कार्यक्रममा जोडीदिई आफ्नो शाखा उपशाखाका बारेमा बिस्तृत जानकारी दिएकोमा धेरै धेरै धन्यवाद दिँदै हरेक शाखा उपशाखाका अध्यक्ष, प्रतिनिधिहरुले राखेको सल्लाह सुझावहरुलाई विचार गर्दै आउँदो दिनहरुमा उक्त सल्लाह सुझाबअनुसार कार्यक्रमहरु निरन्तन्तरा दिँदै जाने प्रतिबद्धता जनाएका थिए । र आउँदो दिनहरुमा सबै शाखा उपशाखाहरुलाई यसरी नै केन्द्रलगायत प्रत्येक शाखा उपशाखाहरुसँग एकआपसमा निरन्तररुपमा संपर्कमा रहिरहेमा तमु प्ये ल्हु संघको विकास तथा उन्नतिका लागि ठूलो टेवा पुग्ने कुरा सुझाव स्वरुप राखेका थिए । र अन्तमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गबहादुर सुबेदीलाई उनको बेलायतको बसाईको क्रममा तमु प्ये ल्हु संघ युकेप्रति गरेको सहयोग प्रति सधैं अभारी रहने प्रतिबद्धता गर्दै उनको नयाँ जिम्मेवारीका कामहरुमा सधैं सफलता रहोस् भन्दै उनको नेपाल यात्रा सुखमय रहोस् भनी शुभकामना ब्यक्त गरेका थिए । ।
अन्तमा भर्च्युयल कार्यक्रमलाई ज्यादै सफलतापूर्ण तरिकाले सन्चालन गरिदिएकोमा कार्यक्रम संचालकद्वय महासचिव खेमबहादुर सरब्ज तमु र तमु प्ये ल्हु संघ युकेका मिडिया कोअर्डिनेटर नेत्र टु क्ल्हेप्री तमु र जहिले पनि पर्दा पछाडि बसेर ज्यादै अतुलनीय भूमिका खेलीरहने सहायक मिडिया कोअर्डिनेटर भवनी च्हम्रु तमु र वेबसाइट प्रबन्धक, वेब मास्टर ईन्द्रेश ङ्होब्छे तमुलाई प्रत्यक्ष कार्यक्रमहरु बिभिन्न माध्यमहरुबाट प्रसारण गरिदिएकोमा धेरै धेरै धन्यवाद दिएका थिए । त्यसैगरी फेसबुक, युट्युब, छ्याज्यालो न्युज डटकम तथा गोर्खा मिडिया, एभरेस्ट टाइम सबैलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।