तमु धिं नेपालकाे ल्होसार शुभकामना आदानप्रदान , सम्मान एवं साँस्कृतिक कार्यक्रम सम्पन्न , विधिको शासन हुनुपर्छ – मन्त्री गुरुङ
तमु धिं नेपालकाे ल्होसार शुभकामना आदानप्रदान , सम्मान एवं साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रमलाई उद्घाटन गर्नुहुदै नेपाल सरकार गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री गुरुङ किरण गुरुङले उक्त कुरा बताउनुभएको हो ।
मन्त्री गुरुङले भन्नुभयो ” विधिको शासन गर्नेहरु जनताबाट चुनिनुपर्छ । लोकतन्त्र भनेको त्यही हो भने जनतालाई सार्वभौम मान्ने आधार पनि विधिको शासन नै हो । समृद्धिमुलक राजनैतिक स्थिरता कायमका लागि हामीले संविधान बनायौ तर त्यसो हुन सकेन । किनभने हामी पुरानो विचार र मान्यतामा गाजिएका रहेछौं । जसका कारण अहिले मध्यवदी निर्वाचन गर्न पर्ने बाध्यत्मक स्थिति सृजना भएको हो ।”
मन्त्री गुरुङले भाषा संस्कृति नै हाम्रो पहिचान हो । त्यही नै मुल खम्बा र आधार हो । गुरुङ भाषा श्रुतिमा आधारित भएकोले विकास हुन नसकेको हो भन्नुभयो । अब गुरुङ भाषालाई लिखित दस्तावेजको रुपमा विकास गर्न पर्नेमा जोड दिनुभयो । अहिले गुरुङ भाषाबाट २५ प्रतिशत अपभ्रंस भएर नेपाली भाषाको शब्द बनेको मन्त्री गुरुङले बताउनुभयो ।
विशेष अतिथि तमु धिं नेपालका निवर्तमान अध्यक्ष कर्म गुरुङले अबको तमु धिंको बागडोर युवामा गएको छ ,अब अझै सफलता मिलोस भनि शुभकामना दिनुभयो । गुरुङले तमु धिं नेपालको आपतकालीन राहत कोषमा हालसम्म ३९ लाख जम्मा भएको बताउनुभयो । सोही कार्यक्रममा घान्द्रुक समाजका मीन बहादुर र नन्दा कुमारी गुरुङले उक्त कोषमा ५० हजार रुपैयाँ प्रदान गर्नुभएको थियो । सोहिअवसरमा वरिष्ठ संस्कृतिकर्मी खिम बहादुर गुरुङ ” प्हायअलि ” ले पनि संरक्षक सदस्य ग्रहण गर्नुभएको थियो । त्यसतै सम्मानित व्यक्तिहरुको तर्फबाट वरिष्ठ लोक गायक अमर विरही गुरुङ र संघ संस्थाबाट नेपाल घेदुङ संघ केन्द्रिय सचिवालय सदस्य दीपक वाइबाले बोल्नुभएको थियो ।
कार्यक्रममा डा.हर्क–चन्द्र–सन्त स्मृति उच्च शिक्षा पुरस्कार अधिवक्ता जुनाकुमारी गुरुङ (एलएलएम)लाई पुरस्कृत, सन्तबहादुर तमु समाज सेवा सम्मान स्मृति पुरस्कारबाट समाजसेवी नागबेली तमु समाजकी हिरादेवी तमु, तमु धिं नेपाल आदिवासी हर्कबहादुर गुरुङ स्मृति पुरस्कारबाट वरिष्ठ लोकगायक अमर बिरही गुरुङ , समाजसेवी पौरखी नेपालका निवर्तमान अध्यक्ष मञ्जु गुरुङ पुरस्कृत र समाजसेवा सम्मानबाट एनआरएन हङकङका अध्यक्ष राधिका(टिका) गुरुङ , भाषा, कला साहित्य सम्मानबाट गितकार, संगीतकार, लेखक एकेन्द्र गुरुङ (यूके)लाई सम्मान गरिएको थियो ।
यसरी नै कर्णेल तिर्थ कुमारी समाज सेवा सम्मान स्मृति पुरस्कारबाट शान्ति रुपा बराहथोक तमु समाजका अध्यक्ष सुवेदार तुलबहादुर तमु र धनबहादुर लामिछाने स्मृति पुरस्कारबाट लामो समय देखि तमु भाषामा योगदान दिनुभएका रत्नबहादुर गुरुङ(स्याङजा सिरुबारी हाल काठमाडौं)लाई सम्मान गरिएको थियो।
यस्तै गरी सुनिल गुरुङ स्मृति छात्रवृत्ति महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत सुस्मिता तमु, माउण्ट अन्नपुर्णमा अध्ययनरत गरिब तथा जेहेन्दार एलिना गुरुङ र तनहु सतिस्वाँराका अभिषेक गुरुङलाई र आकृति गुरुङ स्मृति छात्रवृत्ति खिलाङ गुरुङ समाजका प्रकाश गुरुङ ,ताङतिङका प्रबिण गुरुङ र तनहुँ भोटेनीकी अश्मी गुरुङलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
सम्मानित पुरस्कृतहरुलाई प्रमुख अतिथि मन्त्री किरण गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, निवर्तमान अध्यक्ष कर्म गुरुङ र सम्मान,पुरस्कार, छात्रवृतिका अध्यक्षकोष दाता एवम परिवारजनहरु स्व.आदिवासी हर्कबहादुरका छोरा अर्जुन गुरुङ, स्व.सुनिल गुरुङको बुबा अक्षकोषदाता विष्णुकुमार गुरुङ, स्व.आकृति गुरुङको आमा, स्व.सन्तबहादुर गुरुङको छोरा गौरब गुरुङले बिधागत पुरस्कृत सम्मानित गर्नुभएको थियो ।
तमु धिं नेपालका अध्यक्ष हुम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुबेदार मेजर श्रीप्रसाद गुरुङले स्वागत र महासचिव जुना कुमारी गुरुङले सन्चालन गरेको थियो ।