ईन्जिनियर रोशन थिम्जे तमु( गुरुङ
पाेखरा, ५ कार्तिक।
हरेक समुदायको आफनै प्रकृतिको नाता–सम्बन्ध हुन्छ । गुरुङ समुदायमा मामा फुपुको छोराछोरीलाई “ङोलो ङोल्स्यो” भनिन्छ । तर अचेल, ङोलो ङोल्स्योको ठाऊँमा दाज्युभाई, दिदीबहिनी भन्ने गरेको पाइन्छ । यसको असर के–कस्तो हुन सक्दछ ? भाषा हराउदा संस्कृति कसरी हराउछ ? यो आलेखमा भाषिक मानवशास्त्रीय दृष्टिकोणबाट केलाउने प्रयास गरेको छु ।
करिब एक वर्ष अघिको कुरा हो । पोखराको एक समाज घरमा ल्होसारको तयारी मिटिङ चल्दै थियो । उत्साह र चिन्ता दुवैको मिश्रित माहोलमा छलफल अघि बढ्दै थियो । खाजा आइपुग्यो । खाजा ब्रेक भयो । केही अनौपचारिक कुरा सुरु भयो । एक समाजसेवी आमाले, प्रसंगवश छोराको बिहेको कुरा गर्नुभयो । आमाको अनुहार छोराप्रतिको असन्तोषको भावनाले मडारिएको थियो । आपत्तिजनक स्वरमा उहाँले भन्नुभयो–”मेरो छोरालाई उसैको सोल्टिनीसंग बिहे गर्न भनेको मरिकट्टे मान्ने होइन….।” एक बृद्ध बुवाले प्रतिक्रिया जनाउदै भन्नुभयो–”आफनै मामाको छोरी बिहे गरे त धेरै जाति हुन्थ्यो क्यारे । के गर्नु अचेलका केटाकेटी भनेको मान्दैनन्…।” कुराकानीको शिलशिला चलिरहेको थियो । यस्तो अनुभूति हुन्थ्यो, ङोलो ङोल्स्यो बीच असीम आत्मीयता हुन्छ । प्रगाढ विश्वास हुन्छ । अपार प्रेम हुन्छ । अटुट सम्बन्ध हुन्छ ।
मेरो ध्यान पनि त्यही कुराकानीप्रति केद्रित थियो । उत्सुकता मान्दै सुनिरहेको थिएँ । दिऊँसोको न्यानो घामको किरण झयालबाट छिर्दै कोठामा न्यानो प्रदान गर्दै थियो । मिटिङ सकिए लगत्तै मैंले उहाँ(आमा) लाई एक छेउमा बोलाएँ । र एकान्तमा सोधें–”छोराले सोल्टिनीलाई के भनी बोलाउछ नी आमा ? के साइनोले बोलाउछ ?” आमाबाट सहजै उत्तर आयो–”…बहिनी भनी बोलाउछ बाबु । सानै देखि हो बहिनी भनेको…।” मलाई यही उत्तर आउछ कि भन्ने लगीरहेको थियो । अनुमान गरे जस्तै भयो । म मानवशास्त्रको विद्यार्थी पनि । दिमागमा मानवशास्त्रीय विविध दृष्टिकोणहरु उर्लिन थाले । कारण पत्ता लगाउन तल्लिन भएँ । अहिलेका युवायुवतीहरु किन आफनै ङोलो ङोल्स्योसंग विवाह गर्न मान्दैनन् ? मलाई पनि चासोको विषय थियो ।
अहिले हामी मध्ये धेरैले ङोलो ङोल्स्यो भनेर साइनो गर्दैनौं । बरु दाज्युबहिनी, दिदीभाई भन्छौं । बोल्नलाई त हो, जे भने पनि हुन्छ भन्ने ठान्छौं । यो कुरा सुन्दा, सामान्य जस्तो लाग्छ । तर यसको असर भने गम्भीर छ । अमेरिकी भाषाशास्त्री तथा अग्नी नियन्त्रण ईन्जिनियर Benjamin Lee Whorf ले भन्नुभएको छ– “Language shapes the way we think, and determines what we can think about.” Whorf का अनुसार, भाषाले हाम्रो सोचलाई आकार दिइरहेको हुन्छ । अथवा भाषाले हाम्रो सोच निर्धारण गर्छ । सोच्ने तरिका निर्धारण गर्छ । भाषा केवल शब्द होइन । सोच हो । भावना पनि हो ।
यसबाट स्पष्ट हुन्छ, “ङोलो ङोल्स्यो” शब्द परिवर्तन हुदा केवल शब्द परिवर्तन हुदैन । यसले सोच्ने शैली पनि परिवर्तन गराउछ । नयाँ पिढिहरु आफनै ङोलो ङोल्स्योसंग बिहे गर्न मान्दैनन् । यसका धेरै कारणहरु हुन सक्छन् । एउटा मुख्य कारण, “ङोलो ङोल्स्यो”लाई, “दाज्यु बहिनी” भनेर साइनो गर्नु हो ।
दार्शनिक Frantz Fanon का अनुसार- “To speak a language is to take on a world, a culture.” जब हामी आफनो भाषा बोल्छौं, आफनै संस्कृतिमा हुन्छौं । जब हामी अरुको भाषा बोल्छौं, अरुकै संस्कृतिमा हुन्छौं । यसलाई अर्को शब्दमा भन्नुपर्दा, हामी जसको भाषा बोल्छौं, उसैको संस्कृति अनुसार सोच्न थाल्छौं । बाँच्न पुग्छौं । “ङोलो ङोल्स्यो” लाई अरुको भाषामा प्रयोग गर्दा, त्यो बेला हामी आफनो संस्कृतिमा हुदैनौं । हाम्रो सोच मौलिक हुदैन । अरुकै संस्कृति अनुसार सोच्न पुग्छौं । जस्तै ब्राहमण समाजमा, मामाको छोरीलाई दिदीबहिनी भनिन्छ । विवाह चल्दैन । अब ङोल्स्योको ठाऊँमा दिदी या बहिनी भनेपछि हाम्रो सोच/भावना पनि स्वतः परिवर्तन हुन्छ । बिहे नहुने सोच्न पुग्छौं ।
गुरुङ समुदायमा cross-cousin marriage अथवा मामाफुपुको छोराछोरी बीचको विवाह सदियौं देखिको संस्कृति हो । “ङोलो ङोल्स्यो” शब्द हराउदा यो संस्कृति नै धरापमा परेको छ । स्पष्ट होस्, यहाँ मैंले यस्तो विवाहलाई निरन्तरता दिनु पर्छ भन्न खोजेको होइन । निरन्तरता दिनु हुदैन भन्न खोजेको पनि होइन । केवल भाषा हराउदा संस्कृति पनि कसरी हराउछ ? उदाहरण पेश गरेको हुँ ।
अन्त्यमा, भाषा हराउने तर संस्कृति नहराउने भन्ने हुदैन । यहाँ तात्पर्य, अरुको भाषा जान्नै हुदैन भन्ने पनि होइन । हामीलाई अन्य भाषाहरु उति नै जान्नु आवश्यक छ । तर आफनो बिर्सनु हुदैन भन्ने हो । विडम्बनाको कुरा, हामी अरुको भाषा जान्नलाई र आफनो बिर्सनलाई तल्लिन छौं । यो राम्रो होइन । “ङोलो ङोल्स्यो” दुई शब्द लोप हुदा संस्कृति यति धरापमा पर्छ भने, भाषा नै हराए संस्कृति के होला ? त्यसैले, आवश्यक भाषाहरु पनि जानौं र, आफनो पनि नभुलौं । ङोलोलाई ङोलो भनौं । ङोल्स्योलाई ङोल्स्यो भनौं ।
ईन्जिनियर रोशन थिम्जे तमु(गुरुङ) हाल प्रदर्शनमा रहेको गुरुङ चलचित्र “सिमि नासा”(पितृलोक), म्लेक्यु र “अहा नी ! क्या राम्री गुरुङसेनी”