Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALगोर्खा मिडियाले दोस्रो वार्षिकोत्सव मनाइयो, समाजसेवी र स्रष्टा सम्मानित

गोर्खा मिडियाले दोस्रो वार्षिकोत्सव मनाइयो, समाजसेवी र स्रष्टा सम्मानित

बेलायतबाट सञ्चालित गोर्खा मिडिया डटकमले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ। आइतबार अल्डरसटको प्यालेस हलमा एक कार्यक्रम आयोजना गरी मिडियाको वार्षिकोत्सव मनाइएको हो। स्थापनाका दुई वर्ष पूरा गरी तेस्रो वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा गोर्खामिडियाले समाजसेवी, स्रष्टा र आफ्नो टीमका सदस्यहरुलाई सम्मान गरेको छ। बेलायतमा ’माइला-कान्छा सहयोग अभियान’ सञ्चालन गरी नेपालमा थुप्रै सामाजिक कार्य गरेका पार्वती गुरुङ र माया गुरुङ सम्मानित भएका छन्।

कोभिड महामारी उत्कर्षमा रहेका बेला नेपालका विभिन्न क्षेत्रमा पुगेर राहत बांडेका उनीहरुलाई गोर्खा मिडियाले वर्षका समाजसेवीको रुपमा सम्मान गरेको हो। गोर्खा मिडियाका प्रवन्ध निर्देशक मिलन तमु गुरुङ र कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघ यूके अध्यक्ष ध्रुवराज अर्यालले सम्मानित समाजसेवीद्वयलाई दोसल्ला, खादा र सम्मानपत्रसहित सम्मान गरेका थिए। त्यस्तै, गोर्खा मिडियाले नेपालस्थित चार स्रष्टालाई १० हजार रुपैयासहितको स्रष्टा सम्मान प्रदान गरेको छ। यो सम्मान प्राप्त गर्नेहरुमा कृष्ण थापामगर, अञ्जु थोकर लामा, सागर तामाङ र जानु काम्बाङ लिम्बू छन् ।उनीहरुलाई नेपालमै कार्यक्रम गरी सम्मान वितरण गरिने जनाइएको छ। कार्यक्रममा गोर्खा मिडियाले सेवाको कदर गर्दै सहसम्पादक प्रकाश गुरुङलाई पनि सम्मान गर्‍यो । त्यस्तै, सल्लाहकारद्वय एकेन्द्र गुरुङ र चित्रबहादुर गुरुङ, गायिका तारा श्रीषसहित सहयोगी तथा विज्ञापनदाताहरुलाई पनि प्रसंशापत्र वितरण गरिएको थियो। वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ बेलायत अध्यक्ष ध्रुवराज अर्यालले कोभिड महामारीबीचमा शुरु भएको गोर्खामिडिया स्थापनाका दुई वर्षमै बेलायतको स्थापित हुनु उपलब्धिपूर्ण रहेको बताए।

प्रवासमा मिडिया सञ्चालन चुनौतीपूर्ण हुँदा हुँदै पनि दृढ अठोट र लगावसहित अघि बढेको गोर्खामिडियालाई आगामी दिनमा थप सफलता मिल्ने विश्वास उनले व्यक्त गरे। कार्यक्रमका सभापति एवम् गोर्खामिडियाका प्रवन्ध निर्देशक मिलन तमुले यो स्थानसम्म आइपुग्न सहयोग गर्ने टीमका सदस्य, सल्लाहकार, विज्ञापनदाता एवम् बेलायतको नेपाली समुदायप्रति आभार प्रकट गरे। गोर्खा मिडियाले पत्रकारितासंगै समाजसेवालाई पनि अघि बढाउंदै जाने अठोट उनले व्यक्त गरे। त्यसअवसरमा गोर्खामिडियाका सहसम्पादक प्रकाश गुरुङले मिडिया स्थापनाको पृष्‍ठभूमिसहित अहिलेसम्मको यात्रामा गरिएका विभिन्न सामाजिक कार्य र गतिविधिबारे जानकारी गराएका थिए। सल्लाहकारद्वय एकेन्द्र गुरुङ र चित्रबहादुर गुरुङले शुभकामना व्यक्त गर्दै गोर्खा मिडियाले बेलायतको नेपाली समुदायमा कदरयोग्य योगदान पुर्‍याएको उल्लेख गरे।

कार्यक्रमको सञ्चालन विमल गुरुङले गरेका थिए। सो अवसरमा एनआरएनए यूके पूर्व अध्यक्ष सुर्य गुरुङ, नेफिन यूके अध्यक्ष कर्मा पहाडी शेर्पा, फोनिज यूके अध्यक्ष गोमा राना, तमु समाज यूके अध्यक्ष शिवचन्द्र गुरुङ, सहारा यूके पूर्व अध्यक्षद्वय मीनबहादुर गुरुङ र कुमार गुरुङ, बेक्सली नेपाली समाजका पूर्व अध्यक्ष विजय गुरुङ, व्यवसायीहरु कमल पौडेल, सूर्यप्रकाश गुरुङ, पत्रकारहरु नवीन पोखरेल, बाचस्पति रेग्मीसहित विभिन्न संस्था र समुदायका अगुवाहरुको उपस्थिति थियो।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments