पोखरा – निर्देशक जसु गुरुङले उत्कृष्ट निर्देशकको उपाधि हात पारेकी छन् । आदिवासी जनजाति चलचित्र महासंघले आयोजना गरेको ३ दिने ‘तेस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०७६’ मा उनले सो उपाधि हात पारेकी हुन् ।
उत्कृष्ट निर्देशकको छनौटका लागि महोत्सवमा प्रदर्शन गरिएका १९ फिल्ममध्येबाट जसु उत्कृष्ट दरिएकी हुन् । आफ्नै ब्यानरमा निर्मित फिल्म ‘म्ले क्यु’ले उनलाई उत्कृष्ट निर्देशकको उपाधि दिलाएको हो । यस्तै, महोत्सवमा प्रदर्शन गरिएका अन्य फिल्मलाई उत्कृष्ट ८ बिधामा अवार्ड प्रदान गरिएको थियो ।
जसमा छोटो फिल्मको विधाबाट ‘पुल्टी’ र सुनुवार समुदायमा आधारित रहेर तयार पारिएको वृत्तचित्र ‘छेँगु’ उत्कृष्ट छानियो । यस्तै अन्य विधामा चलचित्र ‘यारी’बाट युवराज राईले उत्कृष्ट छायाँकारको उपाधि हात पारे भने बिनिता थापामगरले उत्कृष्ट महिला कलाकारको उपाधि हात पारिन् ।
उत्कृष्ट पुरुष कलाकारमा बलबहादुर गुरुङ उत्कृष्ट दरिए । यस्तै, ‘के’(च्याब्रुङ)ले उत्कृष्ट फिल्मको उपाधि हात पार्यो ।
पब्लिक च्वाईस अवार्ड विधामा चलचित्र ‘रिजेनासा’ उत्कृष्ट दरिएको छ । उत्कृष्ट छनौट भएका फिल्मलाई कार्यक्रमका प्रमुख अतिथि चलचित्र बिकास बोर्डको अध्यक्ष केशव भट्टराईले मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । उत्कृष्ट उपाधि विजेता चलचित्रकर्मीलाई महासंघका अध्यक्ष अमृतबहादुर सुनुवार उपाध्यक्ष विकु थोकर र महासचिव पुर्खाजीत राई लगायत उपस्थित अतिथिहरुले बधाई तथा शुभकामना दिएका थिए ।